समाचार
अर्यालको जन्मदिनमा बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग
रेडियो आँधीखोला
वालिङ, १९ भाद्र ।
वरिष्ठ उद्योगी, व्यवसायी खुमा प्रसाद अर्यालले बालगृहका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गर्दै बुधबार आफ्नो जन्मदिन मनाएका छन । खुमा अर्याल फाउन्डेसनका सरक्षक खुमा प्रसाद अर्यालको जन्मदिनको अवसर पारेर खुमा अर्याल फाउन्डेसनले स्याङ्जाको फेदिखोला गाउपालिका १ मा रहेको अमोर सेवा नेपाल बाल गृहका ४५ जना बालबालिकालाई ५० हजार बराबरको खाद्यान्न सामाग्री प्रदान गर्दै जन्मदिन मनाएको हो ।
जन्मदिनमा हुने फजुल खर्चलाई कम गर्ने र त्यही सन्देशलाई प्रवाह गर्ने अभिप्रायले उद्योगी, व्यवसायी तथा राजनीतिज्ञ अर्यालले यसरी जन्मदिन मनाएका फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । अध्यक्ष शर्माले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै खुमा प्रसाद अर्याल सामान्य परिवारमा जन्म भएर आज उद्यम र व्यवसायको क्षेत्रमा यो उचाइ प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै फेदिखोला १ का अध्यक्ष अमृत क्षेत्रीले आफुले अमोर सेवा नेपाल बालगृहका लागि समन्वयकारी भुमिका र साथ दिदै आएको बताउनुभयो । उहाँले खुमा अर्याल फाउन्डेसनसंग सस्थागत अपेक्षा रहेको समेत बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका सदस्य लक्ष्मी प्रसाद बरालले सरक्षक अर्याललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सो महान कार्यका लागि फाउन्डेसनलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सो अवसरमा अमोर सेवा नेपाल बाल गृहको परिकल्पना, स्थापना र सन्चालनका लागि आफुले गरेको संघर्षका बारेमा जानकारी गराउदै बालगृह सन्चालिका कमला पराजुलीले सहयोगका लागि खुमा अर्याल फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले फाउन्डेसनसंग आफ्ना थुप्रै अपेक्षा रहेको बताउनुभयो । उहाँले फाउन्डेसनले आफ्नो बालगृहका बालबालिकाका लागि स्वास्थ्यमा सहजीकरण गरिदिनका लागि समेत आग्रह गर्नुभएको थियो ।
२०६८ सालमा स्थापित सो बाल गृहमा हाल ४५ जना बालबालिका रहेका छन । सो कार्यक्रमको सहजीकरण रोट्यार्याक्ट क्लब अफ नक्साल शक्ति, रोटरी क्लब अफ नक्सालले गरेका थिए । फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।