समाचार
स्वरोजगारी सिर्जनामा अगाडि बढ्दै वालिङ नगरपालिका
रेडियो आँधीखोला
वालिङ, २५ भाद्र ।
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीयस्तरमै स्वरोजगारी सिर्जनाका लागि विभिन्न तालिमहरुमा सहभागी गराएर नागरिकहरुलाई प्रेरित गर्दै आएको छ । यसै शिलशिलामा ८ नम्वर वडाको एक समूहले तालिमको सिकाईलाई उपयोग गरेर उत्पादनसँगै स्वरोजगारीमा अगाडि बढेको छ ।
सरसफाईसँग सम्बन्धित उत्पादनमा लाग्न र स्वरोजगारी बन्न नगरपालिकाले नागरिकहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालनमा ल्याएको थियो । यसरी सीपमूलक तालिमसहित नागरिकहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्दै स्वरोजगारीमा जोड्ने कार्यमा नगरपालिका अगाडि बढेको हो । गत असार ६ देखि १२ गतेसम्म ८ नम्वर वडाका २९ जनालाई सरसफाईसँग सम्बन्धित तालिम प्रदान गरिएको थियो ।
तालिममा घरदेखि कार्यालयसम्म प्रयोगमा आउने हर्पिक, डिसवास, हेण्डवास, शिशा क्लिनर, सेतो कालो फिनेललगायतका सामान बनाउने सिकाई प्रदान गरिएको थियो । अहिले त्यही तालिमको सिकाई बमोजिमका सामान उत्पादन गर्ने काममा २९ जनाको समूह लागि परेको हो ।
समूहले “हाम्रो साझा होमकेयर”का नाममा सामान उत्पादन गरेर बजारीकरणमा अगाडि बढिसकेको छ । अधिकांश महिलाहरुको सहभागिता रहेको समूहमा सहभागी सबैजना विशेष रुचिकासाथ लागेका छन् ।
यहाँ उत्पादन भएका सामान स्थानीय बजारमा विक्रि वितरणको थालनी गरिसकिएको समूहका अध्यक्ष प्रेमनारायण बगालेले जानकारी गराउनुभयो । उत्पादित सामानको गुणस्तर राम्रो र मूल्य पनि सस्तो भएकाले उपभोक्ताले सहजै प्रयोग गर्न थालेका उहाँको भनाई छ ।
अध्यक्ष बगालेका अनुसार बजारमा उपलव्ध सामान भन्दा आफूहरुले उत्पादन गरेको सामान गुणस्तरीय रहेकाले उपभोक्ताहरुले पुनः माग गर्न थालेका छन् । नगरपालिकाको साझेदारीमा “हाम्रो साझा होमकेयर” को सञ्चालनमा ल्याइएको हो । जम्मा ३ लाख ५० हजारको लगानीमा सुरु गरिएको उत्पादनले समूहका सबैजनालाई स्वरोजगारी प्रदान गरेको छ । यही भदौ १ गतेदेखि घर भाडा लिएर बजारीकरणमा समूह अगाडि बढिसकेको छ । अहिले कच्चा पदार्थ घुलाउने सानो खालको मिक्स्चरले काम चलाईको छ भने अब अलि ठूलो मिक्स्चरको व्यवस्था हुनसके उत्पादनमा वृद्धि ल्याउन सकिने समूहले जनाएको छ ।
यसैबीच तालिम लिएपछि उत्पादनमा लागेको समूहको प्रगति कस्तो छ भनी अनुगमन र सहभागीहरुको भावना बुझ्दै नगर उप प्रमुख प्रमुख कविता तिवारी गैह्रेले उनीहरुको सक्रियताप्रति खुसी व्यक्त गर्दै नगरपालिका सधैं साथमा रहने विश्वास व्यक्त गर्नुभयो । साथै बजारीकरणका लागि पनि नगरपालिकाको सहयोग रहने उहाँको भनाई छ । यसैगरी थप व्यवस्थापनसहित आवश्यक उपकरणको लागि पनि नगरपालिकाले सहयोग गर्ने जानकारी गराउँदै उहाँले ढुक्कसँग अगाडि बढ्न आग्रह गर्नुभयो ।
तालिमको सिकाई प्रयोगमा ल्याएर स्वरोजगार बन्न मदत पुगेकोमा सहभागीहरुले खुसी व्यक्त गरेका छन् । काम गर्दै र उत्पादन भएका सामान विक्रि हुँदैजाँदा आफूहरुलाई उत्साही बनाएको उनीहरुको भनाई छ । प्राप्त आम्दानीलाई लगानीमा परिणत गर्दै लैजाने र उत्पादनमा वृद्धि गर्दैजाने उनीहरुको योजना छ । “हाम्रो साझा होमकेयर” का उत्पादनको विक्रि वितरणमा समूहमा सहभागी भन्दा बाहिरकालाई पनि स्वरोजगारी प्रदान गर्न सकिने समूहले जनाएको छ ।