समाचार
जेनजि आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन
रेडियो आँधीखोला,
वालिङ २ असोज।
जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार स्याङ्जाका विभिन्न स्थानहरुमा दिप प्रज्वलन गरेर श्रद्धान्जली व्यक्त गरिएको छ । स्याङ्जाको बाडखोलामा शिशु निकेतन माविको अगुवाईमा भेला भएर विद्यालय परिवार तथा जेनजीहरूले शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । उनीहरूले शहीदका परिवाजनप्रति समवेदना समेत व्यक्त गरे । आन्दोलनमा बलिदानी दिएका शहीदको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे । राष्ट्रिय झन्डासहित भेला भएका शिशु निकेतनका शिक्षक तथा विद्यार्थीहरूले अब देशमा सुशासन कायम हुनुपर्ने र भ्रष्टाचारीलाई कारवाही गरिनुपर्नेमा समेत जोड दिएका छन् । त्यस्तै वालिङको मोड, पुतलीबजारमा समेत शहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।
सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ आन्दोलनमा उत्रेका जेनजी पुस्तामाथि सरकारले निर्मम दमन गरेको थियो । त्यसक्रममा १९ जनाको मृत्यु भएको थियो । सरकारी दमनको आक्रोशपछि प्रदर्शन हिंसात्मक बन्दा २४ गते देशभर तोडफोड र आगजनी समेत भएको थियो । २३ गतेको आन्दोलन र त्यसपछिका घटनाक्रममा अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । २३ सयभन्दा धेरै घाइते छन् ।