समाचार
खाडीको कमाई बल छउन्जेल, झाडीको कमाई जीवन रहुन्जेल
वालिङ, ६ असोज ।
स्याङ्जाका एक किसानले यसै खाली रहेर जङ्गल बनेको पाखो जग्गा उपयोगमा ल्याएर दिगो आम्दानीको स्रोत बनाउन लागिपरेका छन् । चापाकोट नगरपालिका ८ दामाचौरका विपिन डोटेलले पाखो जग्गा उपयोगमा ल्याएर दिगो आम्दानीको स्रोत बनाउन लागिपर्नुभएको छ ।
धेरै युवाहरु भविष्य निर्माणका लागि वैदेशिक रोजगारीमा आकर्षित भैरहेका बेला डोटेलले भन्नुभयोे “खाडीको कमाई बल छउन्जेल, झाडीको कमाई जीवन रहुन्जेल भन्ने सन्देश सहीत पाखो जग्गामा कृषि कर्म गरी दिगो आम्दानीको आधार बनाउने प्रयासमा छु ।”
डोटेलले ५ नम्वर वडामा रहेको आफ्नै गाउँ बिसटारीमा “परिवर्तन कृषि तथा बाख्रा फर्म” सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय दामाचौरको ग्रामिण बजारमा व्यापार व्यवसाय गर्दै आउनुभएका डोटेल विगत ५ वर्षदेखि कृषि पेशा अंगाल्नुभएको हो । डोटलेले एभोकाडोको, आँप, लिची, अगरउड, सुन्तला, कागती र अमिलो (निबुवा) लगायत फलफूल लगाउनुभएको छ । बगैंचामा एभोकाडो ४ सयको हाराहारीमा छ भने आँप ४ सय, लिची २ सय र अगरउडका ३ सय बिरुवा छन् । सबै गरेर फलफूलका १३ सय भन्दा धेरै बिरुवा डोटलेलको बगैंचामा हुर्किरहेका छन् ।
४ वर्ष अगाडि लगाएको एभोकाडो गतवर्ष देखि फल्न दिन थालेको छ । अहिले एउटै बोटमा ६० किलोसम्म फलेको डोटेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “विक्रि गर्न समस्या छैन । प्रति किलो थोक मूल्य रु. ३ सय ५० मा विक्रि भैरहेको छ । पोखरा, बाग्लुङ, भैरहवा, बुटवलसम्म पठाउने गरेको छु, नारायणघाट देखि पनि माग आइरहेको छ । अहिले डेढ सय बोटले फल दिन थालेका छन् । ३ क्वीण्टल विक्रि भैसकेको छ, अरु ३ क्वीण्टल जति विक्रि हुने अनुमान छ ।”
खासगरी पूर्व र दक्षिण फर्केको पहारिलो जग्गा एभोकाडोका लागि राम्रो हुन्छ । १० वर्षको एउटै बोटबाट ५ क्वीण्टलसम्म उत्पादन दिन सक्छ । यो बहु उपयोगी फल अन्तर्गत पर्दछ । यसको दाना बीउको लागि प्रयोग हुन्छ भने यसबाट तेल पनि निकाल्न सकिन्छ र यसको तेल प्रति लिटर ३५ हजारमा विक्रि हुन्छ ।
अब कलमी गरेर बिरुवा उत्पादन गर्ने डोटेलको योजना छ । प्रति बिरुवा रु.३ सयमा विक्रि हुन्छ । यो वर्ष १५ हजार बिरुवा उत्पादन गर्ने उनको लक्ष्य छ । एभोकाडोकोसाथमा रहेका आँप, लिची, अगरउड, सुन्तला, कागती र अमिलो (निबुवा) बाट आगामी वर्षदेखि उत्पादन सुरु हुने डोटेलको भनाई छ ।
यसैगरी उनको फर्ममा साना ठूला गरेर सवा सयको हाराहारीमा बोयर जातका बाख्राहरु छन् । डोटेलको फार्ममा ९० प्रतिशतसम्मका बोयर बाख्रा छन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाबाट आँप र लिचीको बिरुवा प्राप्त गरेका डोटेलले सिंचाईका लागि ढाई लाख रुपियाँ अनुदानसमेत मिलेको र यसबाट पानी ट्याङ्की निर्माण गर्नुभएको छ ।
डोटेलले फर्म व्यवस्थापनका लागि स्थानीय उपकार बचत तथा ऋण सहकारीबाट सहुलियत ऋण लिएर सुरु गर्नुभएको हो । उहाँको फर्मममा अहिलेसम्म करिव एक करोड लगानी भैसकेको डोटेलले बताउनुभयो । हावापानी र माटो सुहाउँदो खेति गर्ने हो भने कृषिमा सम्भव छ भन्ने डोटलेको फार्ममा देख्न सकिन्छ ।