अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङमा घटस्थापनादेखी भागवत महापुराण शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, ७ असोज । 
स्याङ्जाको वालिङमा विजयादशमीको घटस्थापना अर्थात् हिजोदेखि श्रीमद्देवी भागवत् महापुराण ज्ञान यज्ञ शुरु भएको छ । वालिङ १० भकुण्डेमा रहेको शिव पार्वती मन्दिर व्यवस्थापन समितिको आयोजनामा आयोजित श्रीमद्देवी भागवत् महापुराण ज्ञान यज्ञ—२०८२ को उद्दघाटन समाजसेवी, शिक्षाविद तेजप्रसाद काफ्लेले उद्दघाटन गर्नुभएको हो । महापुराण ज्ञान यज्ञको उद्दघाटन पुर्व कलश यात्राले वालिङ बजार परिक्रमा गरिएको थियो । मन्दिर प्रांगणबाट शुरु भएको कलश यात्रा भकुण्डे, भुम्रे, हस्पिटलचोक हुँदै तल्लो वालिङ, भीआईपि टोल, वालिङ मोड हुँदै केदारनाथ मन्दिरमा पुजाआजा गरी पुनः मन्दिरमा पुगेर यज्ञको उद्दघाटन गरिएको हो । 
यज्ञको उद्दघाटन गर्दै शिक्षाविद काफ्लेले नवदुर्गा भवानीको शक्तिका विषयमा प्रकाश पार्दै विजयादशमी विजयी पर्व भएको उल्लेख गर्नुभयो । साथै उहाँले कुनै घरमा मृत्यु परेमा उक्त घर परिवार सबै र दाजुभाई समेतले दशैँको टिका नलगाउने संस्कार रहेकोमा यो गलत रहेकोे भन्दै मृत्यु संस्कारमा जुन व्यक्तिले क्रिया गरेको छ घुम्टो बोकेको छ उसले मात्रै टिका लगाउन नहुँने तर अन्य सदस्यहरुले अन्य घरमा गएर टिका ग्रहण गर्न सक्ने पंचाङले समेत भनेको उहाँले उल्लेख गर्नुभयो ।  
कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण, वालिङ नगरपालिका प्रमुख कृष्ण खांण, मुख्य कथा वाचक पण्डित प्रकाश तिवारीले आफ्ना भनाई राख्नुभएको थियो  । आजबाट शुरु भएको यज्ञ १५ गते नवदुर्गा अवधीसम्म रहनेछ ।  
नवदुर्गा मन्दिरमा वर्षेनी गर्दै आएको श्रीमद्देवी भागवत् महापुराण यस पटक विस्तृतरुपमा गर्ने कार्यक्रम अनुसार अगाडि बढिएको भन्दै यो महापुराण विसुद्ध धर्म, संस्कार र संस्कृतिको जगेर्णाका लागि गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । कार्यक्रम अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नमलाल डुम्रे, धन्यवाद उपाध्यक्ष विष्णु गैह्रे र संचालन सचिव हरि बगालेले  गर्नुभएको थियो । 
यज्ञमा दैनिक विहान ७ देखि १२ बजेसम्म पूजा, पाठ पारायण हवन गरिनेछ । यसैगरी दुर्गापूजा, शिव भगवानलाई पञ्चामृतद्वारा अभिषेक, गौ तथा कन्या पूजा हुने आयोजकले जनाएको छ । दिनको साढे बाह्रदेखि ४ बजेसम्म श्रीमद्देवी भागवतमहापुराणम् झाँकीसहितको सङ्गीतमय कथा वाचन हुने छ । साँझ ७ देखि ८ बजेसम्म दुर्गा आरती गरेपछि राष्ट्रिय लोक भजन गायक नारायण गौतमसहितका कलाकारहरुबाट भजन किर्तन रहने छ । १४ गते लक्षवर्ती र १५ गते विधिवत यज्ञ समापन गरिने छ । यज्ञका लागि नवजागरण संस्था र स्पन्दन युनाइटेड क्वल सहयोगी संस्थाको भूमिकामा रहेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...