समाचार
दशैँ लागेसंगै गह्रौं कालिका मन्दिरमा चहलपहल शुरु
रेडियो आँधीखोला
वालिङ, १० असोज ।
बडादशैं सुरु भएसँगै वालिङ नगरपालिका र गल्याङ नगरपालिकाको संगमस्थलमा रहेका गह्रौं कालिका भगवती मन्दिरमा चहलपहल बढेको छ । घटस्थापनाबाटै वालिङ–८ र गल्याङ १० को सङ्गमस्थलमा नबदु्र्गा भवानीका पूजाआराधनाका लागि मानिसहरू मन्दिर जान थालेका छन् । पछिल्लो समय मन्दिर परिसरमा निर्माण भएका भौतिक संरचनाले पर्यटक थप आर्कषित हुन थालेका छन् । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यस मन्दिरमा भौतिक पूर्वाधार, सुविधा सम्पन्न अतिथि गृह, सडकको स्तरोन्नति, खानेपानी, चमेना गृह, आवास गृह लगायतको राम्रो व्यवस्था छ ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको यस मन्दिरमा बडा दशै तथा चैते दशैंमा भव्य पूजा –अर्चना हुने गर्दछ। तत्कालीन चौबीसे राज्यअन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खाँणले १५५२ सालमा गह्रौं कालिकाको स्थापना गरेको मानिन्छ। ऐतिहासिक एवं पुरातात्त्विक महत्वको यस मन्दिर ५५० वर्ष पुरानो हो। गह्रौंकालिका जागृत देवी भएकाले पनि यहाँ भाकल गर्दा दर्शनार्थी तथा भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास छ। समुद्र सतहदेखि झण्डै १ हजार ६ सय मिटरको उचाइमा छन्।
भाकल गर्ने र भाकल पुरा भएको भन्दै पुनः पूजाआजा सहित भाकल पुरा गर्नेहरूको पनि भीड उत्तिकै लाग्ने गर्दछ। घटस्थापनासँगै नवदुर्गाका पूजा आराधना सुरु भएसँगै स्याङ्जाका देवी भगवतीका मन्दिरहरूमा चहलपहल बढेका छन्।
धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्व बोकेको गह्रौंसुरबाट उत्तरतर्फको मनमोहक हिमशृङ्खलाले जो कोहीलाई पनि आनन्दित पार्ने यहाँको विशेषता छ। स्याङ्जासँगै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वत लगायतका जिल्ला अवलोकन गर्न सकिन्छ। वालिङ बजारबाट ८ किलोमिटरको पक्की र केही कच्ची ग्रामीण सडक हुँदै मन्दिरमा पुग्न सकिन्छ। विशेष गरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौंको संख्यामा मानिसहरू आउने गर्दछ।