समाचार
भीरकोटमा चाडपर्व लक्षित बजार अनुगमन ः १३ खाद्यान्न पसल कारबाहीमा
वालिङ, १० असोज ।
भीरकोट नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । दशैं तिहारलाई लक्षित गरेर खाद्यान्न पसल, मासु पसल , होटल तथा रेष्टुरेन्ट , फलफूल तथा तरकारी पसल अनुगमन गरिएको नगर उपप्रमुख भगवती रेग्मी अर्यालले जानकारी दिनुभयो ।
वडा नं १ र २ को ठाडोलाईन र सिद्धार्थ राजमार्ग आसपासका करिब ३५ वटा पसलहरू अनुगमन गर्दा १३ वटा खाद्यान्न पसलबाट अखाद्य वस्तु जफत गरिएको छ ्। नगर प्रशासन प्रमुख सिताराम खनालका अनुसार ५ वटा मासु पसल, २० वटा किराना पसल, ३ वटा होटल तथा रेष्टुरेन्ट, ४ वटा तरकारी तथा फलफूल पसल र २ वटा भेटेरिनरी पसल अनुगमन गरिएको हो । अनुगमन गरिएका धेरै पसलहरूलाई सचेत बनाइएको र १३ पसलबाट म्याद गुज्रेका खाद्यान्न, साबुन, मसला, चाउचाउ, बिस्कुट लगायतका सामाग्रीहरू जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानकारी दिनुभया ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी संचालन गरिएको, पसलको परिचय खुल्ने बोर्ड नराखेको, मूल्य सूचि अद्यावधिक नगरिएको, नविकरण नभएको, इजाजत पत्र नलिइ सुर्तीजन्य पदार्थ बिक्रि गरेको, एक्पाइरी जोन भएको सरसफाइ नभएको पाइएकाले सचेत गराइएको र व्यवसायीहरूलाई व्यवसायिक अनुशासन पालना गर्न र उपभोक्ता हितमा काम गर्न सचेत बनाइएको प्रशासकीय अधिकृत लम्सालले जानकारी दिनुभयो ।
नगर उपप्रमुख भगवती रेग्मी अर्यालको संयोजकत्वमा भएको बजार अनुगमनमा प्रशासकीय अधिकृत लक्ष्मण लम्साल, प्रशासन शाखा प्रमुख सिताराम खनाल, योजना शाखा प्रमुख याम प्रसाद रेग्मी, कृषि शाखा प्रमुख डा. श्रवण कुमार विष्ट लगायतका कर्मचारीहरू, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल, दहथुम प्रहरी चौकीका प्रमुख मुक्त बहादुर खड्का र संचारकर्मीको उपस्थिति रहेको थियो ।
चाडपर्वको समयमा मात्रै बजार अनुगमन गर्ने परिपाटीले गर्दा खाद्यान्न र फलफूल पसलहरूमा बढी समस्या देखिएको छ । नियमित बजार अनुगमन गर्ने र व्यवसायी र उपभोक्ता दुबैलाई सचेतना शिक्षा दिन सकेमा मात्र बजार व्यवस्थित हुने स्थानीय उपभोक्ताहरू बताउँछन्।
यसैबीच उता विरुवा गाँउपालिकाले पनि चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । विरुवा बजारमा रहेका विभिन्न पसलहरुको अनुमगन गरेको गाउँपालिकाल जनाएको छ । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका तथा मापदण्ड पालना नगरेका विभिन्न अखाद्य वस्तुहरु जफत गरिएको पालिकाले जनाएको छर साथै खाद्य वस्तुहरु किनमेल गर्दा उत्पादित मिति, उपभोग्य मिति, उत्पादन गर्ने उद्योगको विवरण हेरेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई पालिकाले आग्रह गरेको छ।