समाचार
भीरकोटकै प्रतिष्ठित शैक्षिक संस्था भाग्योदय माविले स्वर्ण महोत्सव मनाउने
वालिङ, ११ असोज ।
स्याङ्जाको भीरकोट नगरपालिका ६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । भीरकोट नगरपालिकाकै मध्येभागमा रहेको विद्यालयले नमूना विद्यालयका रुपमा विकास गर्नका लागि केही असल अभ्यासहरु समेत प्रयोगमा ल्याइसकेको छ । विक्रम सम्वत २०३३ सालमा स्थापना भएको विद्यालयले यो वर्ष स्वर्ण महोत्सव मनाउने भएको छ ।
आउँदो माघ महिनामा विशेष कार्यक्रमकासहित आफ्नो स्वर्ण महोत्सव मनाउने तय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले जानकारी गराउनुभएको हो । खनालको संयोजकत्वमा मूल आयोजक समिति बनाएर स्वर्ण महोत्सवको तयारीमा विद्यालय जुटेको छ । स्वर्ण महोत्सव ३ दिनको हुने छ । महोत्सवका अवसरमा विद्यालय प्राङ्गणमा स्मारक बनाइने र स्मारिका प्रकाशन गर्ने कार्यक्रम रहेको उहाँले उल्लेख गर्नुभयो । यसले विद्यालयको ऐतिहासिक दस्तावेजिकरण गर्ने उहाँले व्यक्त गर्नुभयो । यसैगरी पठनपाठनमा विषयहरु थप गर्ने र क्याम्पस सञ्चालनका लागिसमेत छलफलहरु भैरहेको अध्यक्ष खनालले बताउनुभयो । अहिले व्यवहारिक शिक्षा अन्तर्गत व्यवसायिक कृषि छ, योसँगै समयको माग र आवश्यकतालाई मध्येनजर गरेर अन्य विषय थप गर्ने सन्दर्भमा छलफल भैरहेकोसमेत उहाँको भनाई छ ।
भीरकोट नगरपालिकाका निवर्तमान नगरप्रमखसमेत रहनुभएका अध्यक्ष खनालका अनुसार आफ्नो संयोजकत्वमा ५ सय १ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक समिति बनाएर तयारीमा लागिएको छ । शिक्षकहरु, पूर्व शिक्षक तथा विद्यार्थीहरु, पूर्व व्यवस्थापन समितिहरु एवम् अभिभावकलगायत यससँग जोडिएकाहरुको सहभागितामा ५ सय १ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक समिति बनाएर तयारीमा लागिएको हो । यस अन्तर्गत पूर्व विद्यार्थी डा. तुलसी प्रभासको संयोजकत्वमा स्मारिका तयारीका लागि ७ सदस्यीय उपसमिति बनिसकेको छ, जसले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ । यसैगरी दशै सकिए लगतै अरु विभिन्न उपसमितिहरु बनाएर कार्य विभाजन गरिनेछ ।
यसैगरी विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले भीरकोट नगरपालिकाकै प्रतिष्ठित शैक्षिक संस्थाको स्वर्ण महोत्सवलाई हामी सबैको साझा पर्वकारुपमा मनाउनेगरी तयारीमा लागिएको बताउनुभयो । यो क्षेत्रकै अग्रणी संस्थाको महोत्सवलाई सभ्य भव्य र मर्यादित बनाउन शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजसेवी सम्पूर्ण महानुभावहरुलाई आ–आफ्नो ठाउँबाट सहयोगी भूमिका निभाउन उहाँको आग्रह छ ।