समाचार
आजदेखि भारी वर्षा हुने भएकाले सर्तकता अपनाउन प्रशासनको आग्रह
वालिङ, १८ असोज ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले १७ गतेदेखी २० गतेसम्म भारी वर्षाको संभावना रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्धारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले आजदेखि २० गते सोमबार सम्म गण्डकी प्रदेशमा समेत भारी वर्षाको संभावना रहेको जनाउदै आफ्ना नागरिकलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको हो ।
सोमबार २० गतेसम्म जिल्लाका विभिन्न नदी तथा खोलाहरुमा पानीको बहाब बढ्ने भएकाले भिराला जमिनहरुमा धाँजा फाट्ने, पहिरो जाने अवस्था समेत देखिएकाले सबैलाई सर्तक रही सुरक्षित रहन र संभावित जोखिमयुक्त स्थानका बासिन्दाहरुलाई रातिको समयमा विषेश ख्याल गर्न प्रशासनले आग्रह गरेको छ ।
जोखिम रहेका स्थानहरुमा नागरिकहरु सुरक्षित रुपमा बैकल्पिक रुपमा बस्ने व्यवस्था समेत मिलाएर सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो । संभावित विपदबाट जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा वर्षाका कारण क्षति र अवरोध समेत हुन सक्ने भएकाले अत्यावश्यक काम बाहेक सकेसम्म घरबाहिर यात्रा नगर्न, यातायातका साधनहरु सञ्चालन र रातिको समयमा यात्रा गर्दा सावधानि अपनाउन र प्रहरीको निर्देशन पालन गर्न समेत प्रशासनले आग्रह गरेको छ ।