समाचार
टमाटर र खुर्सानीले राताम्मे बनेको हिमशिखर आवि
रेडियो आँधीखोला
वालिङ, २३ असोज ।
स्याङ्जाको वालिङ १४ पेखुठाना स्थित हिमशिखर आधारभूत विद्यालय परिसरलाई यतिबेला अकबरे खुर्सानी र टमाटरले राताम्मे बनाएको छ । विद्यालयले “सिक्दै कमाउँदै” कार्यक्रम अन्र्तगत गतवर्षदेखि ३ रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी तरकारी खेति गर्दै आएको छ । गतवर्षदेखि १ विद्यालय १ करेसाबारी कार्यक्रम शुरु गरेको वालिङ नगरपालिकाले गतवर्ष हिमशिखर आवि सहित ८ विद्यालयमा यो कार्यक्रम शुरु गरेको थियो । यो वर्ष भने उक्त कार्यक्रमलाई परिमार्जन गरी ८ भन्दा धेरै विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालनमा छन् । यो कार्यक्रम हिमशिखरमा भने निकै प्रभाविकारी देखिएको छ । गतवर्ष विद्यालयले उत्पादन गरेका कृषि उपज दिवा खाजामा गरिएको खपत बाहेक ७८ हजार रुपैँया आर्जन गरेको थियो ।
करेसाबारीमा उत्पादन हुँने आलु, लहरे तरकारी, मौसमी तथा बेमौसमी तरकारी विद्यालयको दिवा खाजामा खपत भएर बचेको उपजहरु स्थानीय वालिङ बजारमा खपत हुने गरेको छ । यो वर्ष पनि विद्यालयले ३२ किलो खुर्सानी र ४२ किलो टमाटर विक्रि गरेको छ । अहिले पनि विद्यालयको करेसाबारीमा २ वटा टनेलमा २७५ बोट टमाटर, ६०० बोट अकबरे खुर्सानीले उत्पादन दिईरहेका छन् भने रायो साग, मुला, करेला, घिरौँलाहरु छन् । सिक्दै कमाउँदै कार्यक्रमको लागी वालिङ नगरपालिकाले हिमखिसरलाई गतवर्ष १ लाख नगद प्राप्त भएको थियो भने उक्त रकमबाट विद्यालयले भौतिक संचरना तयार गरेको थियो ।
टनेल निर्माण, पानीको लागी ट्याङकी निर्माण, पाईपलगायतमा खर्च गरेको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले बताउनुभयो । कक्षा १ देखि ८ सम्म अध्ययन हुने विद्यालयमा अहिले ७६ जना विद्यार्थी अध्यनरत छन् । संख्यात्मक रुपमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कम देखिएपनि विद्यालयले प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ । विद्यालयमा हरेक शुक्रबार बुक फ्रि कार्यक्रम अन्र्तगत समूह निर्माण गरी कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले शुक्रबार करेसाबारीमा समय दिने गरेका छन् भने खाली पिरेडमा समेत विद्यार्थीहरु करेसाबारीको काम गर्छन् । हप्ताको एक दिन शुक्रबार विद्यालयमा सैद्धान्तिक ज्ञान नभएर प्रयोगात्मक ज्ञान प्रदान गर्छ । शुक्रबारका दिन विद्यार्थीहरु किताब नलिईकन विद्यालय आउँछन् र समुह समुहमा विभाजन भई करेसाबारी, अतिरिक्त क्रियाकलापहरुमा भाग लिन्छन् । यसले गर्दा विद्यार्थीहरुमा व्यवहारिक ज्ञान सिपको पनि विकास भईरहेको देखिन्छ ।