अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अर्जुनचौपारीले आयुर्वेदिक औषधी उत्पादन थाल्यो

news

 
वालिङ, २४ असोज । 
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन गर्न थालेको छ । गाउँपालिकाको आयुर्वेद शाखा मार्फत दुई वटा मेसिनको प्रयोग गरेर आयुर्वेदिक औषधी उत्पादन थालेको हो ।  स्थानीय स्तरमा पाइने हर्रो, बर्रो, अमला, बेसार, लसुन, टिमुर, काफल, चुत्रो, निम, असुरो, हडचुर, तितेपाती, धयरी लगायतका जडीबुटीहरूको खोज र खरिद गरेर औषधी उत्पादन गरिएको हो । 
पालिकाको आयुर्वेद शाखाले पहिलो चरणमा आमलकी चूर्ण, हरितकी चूर्ण, अश्वगन्धा चूर्ण, अर्जुन बीज चूर्ण लगायतका एकल औषधीहरू उत्पादन गर्न थालेको हो । आयुर्वेद शाखा प्रमुख ललित थापाले पालिकाले यहाँ त्रिफला चूर्ण, सितोपलादि चूर्ण, त्रिकटु चूर्ण जस्ता औषधिहरू समेत उत्पादन गरेको बाताउनुभयो । 
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्नेहन, स्वेदन र पञ्चकर्मको लागि वातसामक तेल उत्पादन पालिकामै गरिएको छ । आयुर्वेद पालिकाको मौलिक पहिचान भएको बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले गाउँकै स्रोतसाधन प्रयोग गरी औषधि उत्पादन गर्न थालिएको बताउनुभयो ।  स्वास्थ्य सेवा सुदृढ गर्नुका साथै गाउँपालिकालाई आत्मनिर्भर बनाउने बताउदै तिवारीले पालिकाभित्र जडीबुटीहरू अपुग भए बाहिरबाट खरिद गरेर चूर्णहरु उत्पादन गर्ने बताउनुभयो । 
औषधीलाई गाउँका टोल–टोलमा गएर स्थानीय जनताको आवश्यकता अनुसार वितरण गर्ने योजना पालिकाको छ । गाउँपालिकाले हप्तैपिच्छे प्रत्येक टोल र विद्यालयमा योग, ध्यान तथा पोषणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ भने स्तनपायी आमालाई सतवारी चूर्णसहित दुग्धबर्धक औषधीसमेत शाखाले वितरण गर्दै आएको छ । 
आफ्नै गाउँमा औषधी उत्पादन सुरु हुनु राम्रो एवं ऐतिहासिक कदम भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले स्थानीय जडीबुटीको मूल्य बढाउने मात्र होइन, गाउँकै स्वास्थ्य सेवामा सहजता ल्याउने बताउनुभयो । गाउँपालिकाले आयुर्वेदिक औषधी उत्पादन थालेसँगै स्वदेशी ज्ञान, आत्मनिर्भरता र जनस्वास्थ्य सुदृढीकरणको दिशामा ऐतिहासिक कदम चालेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...