समाचार
स्याङ्जाको पत्रकारिता क्षेत्रको विगत, वर्तमान र भविष्यको चुनौती विषयक अन्तरक्रिया
वालिङ, २६ असोज ।
स्याङ्जाको पत्रकारिता क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्भावना एवम चुनौति विषयमा अन्तरक्रिया गरिएको छ । अनलाइन मिडिया द्वय खबर कलम डट कम र स्मार्ट अखबार तथा अकला आवाज साप्ताहिकको संयुक्त आयोजनामा जिल्लामा क्रियाशील पत्रकारहरुकाबीच पत्रकारिता क्षेत्रको विकास तथा थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम भीरकोटमा गरिएको हो ।
कार्यक्रम शुभारम्भमा भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले आँफूहरु सधै पत्रकारहरुको साथ र सहयोगमा रहेको बताउनुभयो । आँफूहरुबाट गरिएका असल अभ्यासलाई सञ्चार माध्यमबाट उजागर गर्दै नागरिकहरुबीच पु¥याउन भूमिका निभाउन उहाँले आग्रह गर्नुभयो । यसैगरी कमि कमजोरीहरु औंल्याइदिएर सहयोग गर्न पनि नगरप्रमुख कर्माचार्यले अनुरोध गर्नुभयो । यसैबीच उहाँले सीमित स्रोत र साधनका बावजुद पनि नगरपालिकाले लागु गरेका केही असल अभ्यासहरुको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिका भएर पनि संघीय सरकारबाट गाउँपालिकालाई जस्तै गरी थोरै बजेट आउँछ, आफ्नो आयश्रोत न्यून छ । धेरै पहिला बनेका वालिङ र पुतलीबजार नगरपालिकासँग प्रतिस्पर्धा गरेर कार्य गर्नुपरेको छ ।” असल अभ्यास अन्तर्गत नगरपालिकाको फोहर व्यवस्थापन पनि एक हो । फोहर व्यवस्थापनमा स्याङ्जा जिल्लामै सबैभन्दा राम्रो भीरकोट नगरपालिकाले गरेको उहाँले उल्लेख गर्नुभयो । सुन्दरतासँगै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले फोहरमैला व्यवस्थापनको साथमा रहेको पार्क नजिकै ताल निर्माणको तयारी गरिरहेकोसमेत नगरप्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोइरालाले अहिलेको प्रविधिको विकाससँगै मिडिया हाउस र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै पत्रकारिता क्षेत्रका चुनौतिहरुको सामना गर्दै पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउदै लैजान आ—आफ्नो ठाउँबाट सबै लाग्नुपर्ने र त्यसका लागि महासंघ सधैं साथमा रहने अध्यक्ष कोइरालाले व्यक्त गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरुले विगतको अभ्यास र वर्तमान अवस्थाको चर्चासँगै पत्रकारिताको भविष्यका सन्दर्भमा सहभागीहरुले आ—आफ्ना धारणा राखेका थिए । पत्रकारहरुले अहिलेको प्रविधिको विकाससँगै मिडिया हाउस र पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै पत्रकारिता क्षेत्रका चुनौतिहरुको सामना गर्दै पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउदै लैजाने प्रतिवद्धता जनाएका छन् ।