समाचार
७०औँ प्रहरी दिवसका अवसरमा रक्तदान
वालिङ, ३० असोज ।
७०औँ प्रहरी दिवसका अवसरमा स्याङ्जामा रक्तदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिवसका अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आकस्मिक अवस्थाहरुमा आवश्यक पर्ने रगतको सहज उपलब्धताको लागी सहकार्य साथै मानजीवन रक्षा र सामाजिक उत्तरदायित्वको भावना प्रर्वद्धन भन्ने मुल उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालयले नेपाल रेडक्रस सोसाईटी स्याङ्जा साखाको प्राविधिक सहयोगमा प्रहरी कार्यालयको प्रांंगणमा रक्तदान सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा ३७ जना प्रहरी कर्मचारी र ६ जना सर्वसाधारण गरी ४३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको भन्दै रक्तदान नै जिवनदान भएकाले यस कार्यमा सहभागि भएर कार्यक्रम सफल पार्नुभएका सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।