समाचार
गण्डकी माविको स्वर्ण महोत्सव तयारीका लागि विभिन्न उपसमिति गठन
वालिङ, २ कार्तिक ।
स्याङ्जाको गल्याङ नगरपालिका आपचौरस्थित श्री गण्डकी मावि आपचौरको स्वर्ण महोत्सव आगामी पुस ३ देखि ५ गतेसम्म मनाइने भएको छ। विद्यालयमा आयोजित भेलाले स्वर्ण महोत्सव आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद चापागाईंको अध्यक्षतामा १०१ सदस्यीय गण्डकी माध्यमिक विद्यालय स्वर्ण महोत्सव समारोह समिति २०८२ गठन भएको छ। त्यसका साथै स्वर्ण महोत्सव सफल पार्न विभिन्न १८ उपसमितिहरु गठन गरिएको छ।
जस अन्तर्गत आर्थिक उपसमिति, ऐतिहासिक दस्तावेज उपसमिति, प्रचारप्रसार उपसमिति, निमन्त्रणा उपसमिति, अतिथि सत्कार उपसमिति, स्वर्ण स्तम्भ निर्माण उपसमिति, सल्लाहकार उपसमिति, सामाजिक परिक्षण उपसमिति, अतिरिक्त क्रियाकलाप उपसमिति, सम्मान एवम् अभिनन्दन उपसमिति, सचिवालय उपसमिति आदि गठन भएका छन्।
विद्यालय ५० औं वर्ष पुगेको आधारमा विद्यालयमा पुर्व विद्यार्थी एवम् दानदाताको सहयोगमा एउटा सरस्वती मन्दिर निर्माण गरिने योजना रहेको छ। त्यसका साथै एउटा स्वर्ण स्तम्भ समेत निर्माण गरिने भएको छ। दानदाताको नाम स्वर्ण स्तम्भ एवम् सरस्वती मन्दिरको शिलालेखमा लेखिने योजना रहेको छ। स्वर्ण महोत्सव समारोहको अवसरमा स्मारिका प्रकाशन, विद्यालय स्थापना काल देखि महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई सम्मान, विद्यार्थीका प्रतिभा प्रस्फुटनका कार्यक्रम तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहनेछन्।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नामदेव खनालले नगरपालिकाले विद्यालयलाई गरेको सहयोग बारे जानकारी दिनुभयो। वहाँले विद्यालय स्थापना काल देखि महत्त्वपूर्ण भुमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गर्ने र इतिहास समेट्नुपर्ने कुरा बताउनुभयो। भेलाले लेखनाथ चापागाईंको अध्यक्षतामा भुपु विद्यार्थी मन्चको तदर्थ समिति गठन गरिएको छ।