समाचार
गह्रौँसुर मन्दिरको दशैँमा भएको आयव्याय सार्वजानिक, १९ लाख बढी आम्दानी
रेडियो आँधीखोला,
वालिङ ३ कार्तिक ।
गल्याङ नगरपालिका र वालिङ नगरपालिकाको सिमानामा रहेको गह्रौँसुर मन्दिरको आयव्याय सार्वजानिक गरिएको छ । दशैँको घटस्थापना अशोज ६ गतेदेखि अशोज २५ गते संकलित रकमको आयव्याय सार्वजानिक गरिएको हो । नयाँ मन्दिर व्यवस्थापन समिति गठन हुन नसकेपछि चैते दशैँ र विजय दशमीको पुजाको सहजीकरण वालिङ नगरपालिकाले गर्दै आएको छ । यसअघिको समिति विघटन भएपछि गत भदौ २३ गते वालिङ नगरपालिकाले सर्वपक्षिय बैठक बसेर नगरपालिका अभिभावकको रुपमा रहेर दशैँको सम्पुर्ण कार्य गर्ने निर्णय गरेको थियो ।
आईतबार वालिङ नगरपालिका सभाहलमा एक पत्रकार सम्मेलन गरी दशैँ अवधिको आयव्याय सार्वजानिक भएको हो । सार्वजानिक गरिएको आयव्याय अनुसार अशोज ६ गतेदेखि २५ गतेसम्म मन्दिरमा १९ लाख १९ हजार ९१ रुपैँया संकलन भएको थियो जसमा १० लाख ४५ हजार ५३६ रुपैँया खर्च भएको छ ।
खर्चमा पण्डित तथा पुजारी दक्षिणा ८० हजार ८१०, पाठ पण्डित दक्षिणा १५ हजार १५, श्रमिक ज्याला २ लाख १३ हजार ६५०, खानपान सामानमा २७ हजार ९२५, पुजाभोग वस्तु खरिदमा ८३ हजार १५०, सरसफाई समान ५ हजार ७४०, विविध सामान ढुवानीमा ९ हजार ९००, इन्धन ग्याँस खरिदमा १७ हजार ६८५, दाउरा खरिदमा १६ हजार १५०, पाठा तथा पाडा सफाई ज्याला १ लाख ४६ हजार ८०, विद्युतिय समान ७६ हजार ४२, रंगरोगनको सामान खरिदमा ३० हजार ७६१, खानेपानी २१ ह्जार ९८६, कर्मचारी तलब तथा भत्ता १ लाख ४५ हजार, विविध समान खरिद ३२ हजार २७०, पेट्रोल २ हजार ४०६, मंदिर रंगरोगन ज्याला १० हजार २००, दशैँ शुभकामना प्रसार १५००, मन्दिरको बाजा मर्मत ५ हजार, सिसिटिभि क्यामेरा ७३ हजार ६००, मोटर पम्प १३ हजार १६४, विभिन्न मुर्तिहरुको कपडा खरिद १७ हजार ५०० गरी १० लाख ४५ हजार ५३६ रुपैँया खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै आम्दानीतर्फ परेवा विक्रिबाट १ लाख ४५ हजार ६००, पाठाको टाउको विक्रिबाट ४ लाख ३४ हजार ६००, पाठा तथा पाडा सफाईतर्फ २ लाख २४ हजार ७५०, मन्दिरको भेटि ६ लाख २ हजार ७१०, सहयोग रसिद ४५ हजार ९२६, पँचौली रसिद ३२ हजार ५, दानपेटिका १ लाख २८ हजार ३९५, ठेक्का बापत ३ लाख ५ हजार १०५ गरी १९ लाख १९ हजार ९१ रुपैँया आम्दानी गरेको हो ।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले मन्दिर व्यवस्थापन समिति नयाँ निर्माण हुँन नसकेपछिको अवस्थामा वालिङ नगरपालिकाले अभिभाकत्व ग्रहण गरी पुजा सहजिकरण गरेको बताउनुभयो । लामो समयसम्म पनि मन्दिर व्यवस्थापन समिति निर्माण हुँन नसकेको गुनासाहरु आईरहेको अवस्थामा साधारण सदस्यहरुले नै निर्वाचन समिति गठन गरेर प्रक्रियामा गईरहेको बेला नगरपालिकाले हस्तक्षेप गर्न नखोजेको बताउनुभयो ।
छिटो निर्वाचन गराउन निर्वाचन समितिलाई अनुरोध पत्र पठाउने र यदि निर्वाचन समितिले निर्वाचन गर्न नसकेको खण्डमा नगरपालिकाले अभिभावकको नाताले सहजीकरण गर्ने उपप्रमुख गैह्रेले बताउनुभयो । मन्दिर सम्म जानका लागी सडकको सहजीकरण गर्ने तथा वालिङका विभिन्न स्थानहरुमा मन्दिर प्रवेशद्धार राख्न र मन्दिर सम्म जानका लागी सवारी सहजीकरण गर्न नगरपालिका प्रक्रियागत रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।
त्यस्तै चैते दशैँमा ९ लाख ३७ हजार आम्दानी भएको र चैते दशैँको खर्च कटाएर बचत रकम र ठुलो दशैँको बचत रकम मन्दिर बैंकमा रहेको खातामा जम्मा गरिएको पनि उहाँले जानकारी गराउनुभएको थियो । मन्दिरलाई यो स्थानसम्म ल्याई पु¥याउनेप्रति हार्दिक आभार व्यक्त गर्दै नगरपालिकाले मात्रै अभिभावकीय जिम्मेवारी लिएको उहाँको स्पष्ट्रोक्ति थियो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पुर्व सचिव तिलक उपाध्यायले मन्दिरमा आर्थिक पारदर्शीता रहेको भन्दै मन्दिरको इतिहास काललाई सम्झेर जिल्लाकै अपनत्व हुने गरी मन्दिरलाई विकास गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार तथा सहभागिले मन्दिर व्यवस्थापन समिति लामो समयसम्म पनि गठन हुँन नसक्दा भक्तजनमा निरासापन छाएको उल्लेख गरेको थिए । कार्यक्रमको संचालन नगरपालिका प्रेस सल्लाहकार शुसिल सुवेदीले गर्नुभएको थियो भने स्वागत मन्दिर पुजा व्यवस्थापन समिति संयोजक युगमाया पंगेनीले गर्नुभएको थियो ।