समाचार
गाउँ–गाउँमा ‘भागवद् गीता’ वितरण गर्दै युवाहरु
वालिङ, ४ असोज ।
विश्व हिन्दु युवा संघ स्याङ्जाको अगुवाईमा जिल्लाका गाउँ–गाउँमा ‘श्रीमद् भागवद् गीता’ वितरण गरेकोे छ । पछिल्लो समय समाजमा धर्म, कर्म र ज्ञान योगमा देखिएको अभाबलाई पुरा गर्न संघमा आबद्ध युवाहरुले भागवद् गीता वितरण गर्ने अभियान चलाएका हुन ।
युवा वर्गमा नैतिकता हराउँदै गयो, धार्मिक मान्यताहरु मासिदै गए र ज्ञानका बारेमा चासो राख्न छाडे त्यसलाई रोक्न युवाहरुले भागवद् गीता वितरण गरिउको विश्व हिन्दु युवा संघका अध्यक्ष नवराज पौडेलले बताउनुभयोे । खासगरी युवा र स्थानीयलाई नैतिकवान, धार्मिक आस्था र ज्ञान आर्जन गर्न आवश्यक छ भनेर सन्देश दिनका लागि गीता वितरण अभियान चलाएको उहाँहरुको भनाई छ ।
भागवद् गीता वितरणको अगुवाई गर्नुभएका पौडेल अर्जुनचौपारी गाउँपालिका–१ स्याङ्जाका ३० वर्षिय युवा हुनुहुन्छ । एम.एस्सी.सम्मको अध्ययन गर्नुभएका पौडेल बिज्ञान विषय लिएर अध्ययन गर्नुभएको हो । मानिसमा धर्म संस्कृती हराएको बताउँदै धर्मसँगै संस्कृत भाषाको प्रवर्धन गर्न अभियान चलाएको उहाँले सुनाउनुभयो ।
एक लाख ११ हजार १११ गीता पुस्तक वितरण गर्ने लक्ष्य सहित झण्डै एक वर्षदेखि संचालन गरेको गीता वितरण अभियानमा हालसम्म करिब ५ हजार पुस्तक वितरण गरिएको छ । जिल्लाका ११ पालिकामध्ये अर्जुनचौपारी, भीरकोट र वालिङमा केन्द्रित पुस्तक वितरण अभियानलाई जिल्लाव्यापी बनाउने तयारी गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । आर्थिक जोहो गरेर संघले पुस्तक खरिद गरेको र केहि पुस्तक दाताबाट लिएर वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
खासगरी विद्यालयस्तरमा कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थी र समुदायलाई प्राथमिकता दिएर पुस्तक वितरण गरेको संघले जनाएको छ । संघकै पहलमा ‘एक पालिका, एक संस्कृति पुस्तकालय’ अभियान समेत संचालन गरिएको छ । पुस्तक वितरणसँगै सहयोग जुटाएर भीरकोट र अर्जुनचौपारीमा पुस्तकालय स्थापना गरिएको संघले जनाएको छ ।