समाचार
छ करोड खर्चेको चापाकोटको भ्युटावर सुनसान
वालिङ, ५ कार्तिक ।
चापाकोट नगरपालिका–१०, बाँयोडाँडामा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको भ्यु टावर ओझेलमा परेको छ । नगरपालिकाको करोडौ खर्चमा छ वर्ष लगाएर निमार्ण गरिएको भ्यु टावरको उचित व्यवस्थापन र प्रचार–प्रसार नहुँदा ओझेलमा परहेको हो ।
आर्थिक वर्ष २०७३÷०७४ बाट निर्माण शुरु भएको भ्यु टावर छ करोड रुपैयाँको लागतमा २०७८÷०७९ मा निर्माण भएको हो । ४५ फिट अग्लो टावरमा लगानी र अपेक्षा अनुसार पर्यटक नपुग्दा सरकारको लगानी बालुवामा पानी बनेको हो । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको भ्यु टावर पछिल्लो समय सुनसान बनेको छ ।
टावरबाट देखिने दृश्य र टावरको सतहमा रहेका डाँडाकाडाबाटै देखिने दृश्यमा कुनै भिन्नता नभएको स्थानीयको भनाइ छ । मुल सडकबाट भ्यु टावरसम्म पुग्ने सहायक सडकको समेत मर्मत सम्भार र व्यवस्थापन नगर्दा झाडीले ढाकिदै जाँदा यदाकदा आउने आन्तरिक पर्यटकलाई असहज भएको छ ।
तारबार लगाएर टावरलाई व्यवस्थित बनाए पनि आसपासका पर्यटक क्षेत्रलाई आकर्षित बनाउने संरचना नहुँदा टावर सुनसान बनेको छ । बाँयोडाँडा क्षेत्रको आकर्षण बढाउन विकास निर्माणका योजनासँगै विभिन्न सार्वजनिक कार्यक्रम गर्ने प्रयास थालिएको चापाकोट नगरपालिका नगर प्रमुख देवबहादुर खाँणले बताउनुभयो ।
स्थानीय पर्यटक क्लब, युवा, आमा समूह र समाजसेवीलाई परिचालन गरेर भ्यु टावरको प्रवर्धन, सचेतना तथा प्रचार–प्रसार गर्न थालेको प्रमुख खाँणले बताउनुभयो। पर्यटन प्रवर्धन लागि संरचना निर्माण गरेर मात्रै नहुने भएकाले त्यसको दीर्घकालीन उपयोग, व्यवस्थापन र सामुहिक उपभोगमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुँदै जाने उहाँले बताउनुभयो ।
करोडौ रकम खर्च गरेर निर्माण गरेको टावरको प्रयोगबाट स्थानीयलाई रोजगारी सृजना गर्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् । करोडौ रकम खर्च गर्ने तर शुन्य प्रायः प्रतिफल आउने योजना चाहिँदैन् । नगरपालिकाले रोजगारी सृजना गर्ने योजनालाई प्राथमिकता दिन उनीहरुले माग गरेका छन् ।