समाचार
पर्यटन प्रवद्र्धन तथा आयआर्जनकालागि पूर्वाधार निर्माण
रेडियो आँधीखोला
वालिङ, १६ कार्तिक ।
स्याङ्जाको भीरकोट नगरपालिका ४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण कार्य थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिंदै आम्दानीको स्रोतकोरुपमा विकास गर्ने उद्देश्यसहित भीरकोट नगरपालिकाले बीच भागमा मन्दिरसहितको तलाउ निर्माण कार्य थालेको हो ।
भीरकोट नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र र पार्क रहेकै स्थानमा मन्दिरसहितको तलाउ निर्माण भईरहेको हो । शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत शहरी पूर्वाधार कार्यक्रम अन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण कार्य गरिने भएको विभागका ईञ्जिनियर अच्युत पौडेलले जानकारी दिनुभयो ।
“आयआर्जनको स्रोतकोरुपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण कार्य भईरहेको छ” उहाँले भन्नुभयो, “उक्त ठाउँसम्म पुग्नकालागि २.३ किलोमिटर (एस्फाल्ट कंक्रिट) को पक्की पहुँच मार्ग निर्माण गरिने छ ।” नगरपालिकाको सहकार्यमा एकीकृत शहरी पूर्वाधार कार्यक्रम अन्तर्गत कुन÷कुन ठाउँमा के कस्ता पूर्वाधार निर्माण गर्दा उपयुक्त हुन्छ भनी विस्तृत परियोजना प्रतिवेदन तयार गरेर काम भईरहेको उहाँले बताउनुभयो । उक्त योजना सम्पन्न गर्नकालागि अनुमानित लागत रु. १२ करोड ८० लाख रहेको छ ।
योजना कार्यान्वयनकालागि ग्राण्ड एसके शिव जेभी काठमाडौंसित सम्झौता भएको हो । २०८१ असार ६ गते ठेक्का सम्झौता भई अगाडि बढेको योजना यही फागुन ५ गते सम्पन्न हुनुपर्ने छ । ठेकेदार कम्पनीले रु. ८ करोड, २४ लाख ५५ हजार ५५६ को लागतमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो ।
भीरकोट नगरपालिकामा आम्दानीका स्रोतहरु वृद्धि गर्ने योजनासहित नगरपालिकाले मन्दिरसहितको तलाउ निर्माण गर्ने कार्य अगाडि बढाएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । “नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्नकालागि के के गर्न सकिन्छ भने छलफल ग¥यौं” उहाँले भन्नुभयो, “मन्दिरसहितको तलाउ निर्माण गरी डुङ्गामार्फत मन्दिरको दर्शन गर्न सक्ने गरी योजना बनाएका छौं, यो ठाउँ आन्तरिक पर्यटकको रोजाईमा पर्ने र त्यसबाट आम्दानी पनि हुने विश्वास हाम्रो छ ।”
चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आउने गरी काम भईरहेको नगर प्रमुख कर्माचार्यले जानकारी दिनुभयो । तलाउमा निर्माण गरिएको मन्दिरमा शिवपार्वती र गणेशको मुर्ति प्रतिस्थापन गरिने भएको हो । हाल निर्माणाधिन अवस्थामा रहेको तलाउ परिसरमै नगरपालिकाले सञ्चालन गरेको भीरकोट उद्यानबाट वार्षिकरुपमा लाखौं आम्दानी गर्दै आईरहेको छ ।