समाचार
हरिबोधिनी एकादशीमा स्याङ्जाका विभिन्न तिर्थ स्थलमा भक्तजनको भीड
रेडियो आँधीखोला
वालिङ, १६ कार्तिक ।
हरिबोधिनी एकादशी पर्व हिजो धुमधामका साथ मनाईएको छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । हिजो कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । एकादशीका अवसरमा स्याङ्जाको छाङछाङदी स्थित छायाँक्षेत्र मन्दिर, वालिङ १३ को शिवपार्वती मन्दिर त्रिवेणीधाम, मालुंगाको उत्तरबाहिनी, राम्दी, सेतिबेणीलगायतका गण्डकी किनारहरुमा भक्तजनहरुले स्नान तथा पुजापाठ गरेका छन् । विषेशगरी उत्तरबाहिनीमा जारी धर्मोत्सवका अवसरमा हिजो एकादशीका अवसरमा भक्तजनहरुले उत्तरबाहिनी गण्डकीमा स्नान तथा धर्मोत्सवको अवलोकन गरेका छन् ।
यसैबीच यता छायाँक्षेत्र मन्दिर छाङछाङदीमा १ लाख ४ हजार ६३० रुपैँया बचत भएको छ । हरिबोधनी एकादशीका अवसरमा भक्तजनहरुले चढाएको भटि, सहयोग रसिद, स्टल विक्रिलगायतको शिर्षकबाट मन्दिरले खर्च कटाएर उक्त रकम बचत गर्न सफल भएको हो । मन्दिर व्यवस्थापन समितिका सहसचिव शोभाकान्त पौडेलका अनुसार भजन मण्डली तथा मुल मन्दिरबाट ३२ हजार १५०,दानपेटिका १७ हजार ६५०, स्टल विक्रिबाट १३ हजार ७००, सहयोग रसिदबाट ४१ हजार १८० संकलन भएको हो ।
मन्दिरमा लाग्ने विभिन्न मेला तथा भक्तजनहरुले चढाएको भेटि रकम मन्दिरको बैैंकमा रहेको खातामा जम्मा गर्ने र मन्दिर व्यवस्थापन, भौतिक संरचना निर्माणमा खर्च हुँदै आएको छ । मन्दिरमा मनोकांक्षा पुरा हुने भएकाले जिल्ला तथा जिल्ला बाहिरबाट पनि भक्तजनहरु आउने गरेका छन् । यहाँ विषेशगरी एकादशी, शिवरात्रि, साउने सोमबार, सक्रान्तीलगायतका विभिन्न पर्वहरुमा विषेश मेला लाग्ने गर्छ भने हरेक दिन भक्तजनहरु आफ्नो विषेश दिनहरुमा मन्दिर दर्शन तथा पुजापाठका लागी पनि जाने गर्दछन् ।