समाचार
नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ट्याक्टरहरू नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, १८ कार्तिक ।
नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसारमा संलग्न ट्याक्टरहरू प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जाको भीरकोट ७, बलमाटा क्षेत्रमा नदीजन्य पदार्थ (ढुङ्गा) को अवैध उत्खनन तथा ओसार–पसार भइरहेको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले ति ट्याक्टरहरूलाई ढुङ्गा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
ग. १ त. ५०३९ र ग. १ त. ६२६३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाईएको छ । साथै टि ट्याक्टरहरुलाई १०÷१० हजार जरिवाना समेत तिराईएको छ ।
यस्तै अदालतबाट फैसला भई कैद तथा जरिवाना तिरेर नआएका दुई फरार दोषीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको विशेष अप्रेसन टोलीले फरार रहेका दुई जना दोषीलाई सोमबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा हरिनास गाउँपालिका –६ का ख्यामबहादुर राना र बिरुवा गाउँपालिका –४ का हिमाल गुरुङ रहेका छन् । रानालाई कर्तव्य ज्यान मुद्दामा २ वर्ष १० महिना १८ दिन कैद सजाय तोकिएको छ भने गुरुङले सार्वजनिक अपराध मुद्दामा तीन हजार रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई कैद भुक्तान र जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको छ ।