समाचार
प्रहरीले ४ जना फरार कैदीलाई पक्राउ, २ जनाको लगत कट्टा
रेडियो आँधीखोला
वालिङ, १९ कार्तिक ।
प्रहरीले ४ जना फरार कैदीलाई पक्राउ गरेको हो भने २ जनाको निधन भएकाले लगत कट्टा गरिएको प्रहरीले जनाएको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागी प्रहरीले पछिल्लो समय पुराना पुराना जघन्य अपराधका कैदीहरुलाई नियन्त्रणमा लिने अभियानमा अगाडि बढेको छ ।
जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी दहथुम, फेदिखोला र अस्थायी प्रहरी चौकी पौवेगौडे स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ४ जनालाई पक्राउ गरी कैद भुक्तान तथा जरिवाना असुलको लागि अदालतमा उपस्थित गराईएको छ ।
पक्राउ पर्नेहरुमा गल्याङ ५ स्थायी घर भई जिल्ला पोखरा १३ मियापाटन बस्ने ३३ वर्षीय शान्ति गुरुङ, पुतलीबजार १२ पेल्काचौरका ४० वर्षीय टेक भन्ने डम्मर बहादुर गुरुङ, साविक नुवाकोट –४ पौवे मध्ये घुरवाला हाल पुतलीबजार ५ का जित बहादुर कार्की, र सोहि स्थानका सेती क्षेत्रीनीलाई प्रहरीले पक्राउ गरी अदालतमा पठाएको छ । त्यस्तै साविक सिर्सिकोट गा.वि.स. –०६ छापा हाल वालिङ १२ को डिल ब. गुरूङ, र साविक आरुखर्क गाविस वडा नं ८ हाल फेदीखोला गाउँपालिका ४ बस्ने हर्क बहादुर गुरुङको भने निधन भएकाले लगत कट्टा गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु डाँका कसुर, बैकिङ कसुर, पशुपंक्षी सम्बन्धी कसूर, चोरीका रहेका छन् ।
त्यस्तै करिब ५० वर्षअघि स्याङ्जाको पेलाकोटमा भएको चोरी घटनामा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् । साविक पेलाकोट गाउँपञ्चायत–२ (हाल गल्याङ नगरपालिका –७, कल्लेरी) बस्ने लालबहादुर रानामगरलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले सोमबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
रानामगरले २०३५ साल वैशाख १५ गते राति दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । सो मुद्दामा २०४५ साल मंसिर १६ गते जिल्ला अदालत स्याङ्जाले उनलाई दोषी ठहर गर्दै १ महिना १५ दिन कैद र ४ हजार ५ सय रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । फैसला पछि फरार रहेका उहांलाई लामो अनुसन्धानपछि प्रहरीले पक्राउ गरी सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।