समाचार
दामोदर धर्मोत्सव—२०८२ सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २० कार्तिक ।
स्याङ्जा र पाल्पाको संगमस्थल उत्तरबाहिनीमा एक महिनासम्म सञ्चालन भएको ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव—२०८२’ आजबाट सकिएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका १ र पाल्पाको रम्भा गाउँपालिका १ को उत्तरबाहिनी क्षेत्रमा गत असोज २१ गतेदेखि शुरु भएको एकमहिने उत्तरगण्डकी दामोदर धर्मोत्सव आज सकिएको हो ।
उत्तरगण्डकीको महिमालाई विश्वभर चिनाउने उद्देश्यले धार्मिक महामेला धर्मोत्सव गरिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष एवम् कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो ।
धार्मिक रुपले निकै पवित्र मानिने र विश्वमै एकमात्र शालग्राम पाइने कालीगण्डकी नदी त्यसमा पनि उत्तरतर्फ बगेको क्षेत्र भएकाले झनै पवित्र हुनेहुँदा यसको प्रचारप्रसारमा सहयोगी भुमिका खेल्ने उद्देश्यले एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव सञ्चालन गरिएको संयोजक चैतन्य कृष्णले जनाउनुभयो ।
प्राकृतिक रुपमा ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटरको दूरीसम्म उत्तरतर्फ भएर बहेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिकको दर्शनकासाथै कालीगण्डकीकै जलबाट बनाईएको १०८ धारामा स्नान गर्नुकासाथै सवा लाख शालग्रामको एकैठाउँमा दर्शन गर्न पाईने गरी ब्यवस्था मिलाईएको थियो ।
उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीर्घकालीन सोंचसहित आयोजना गरिएको महामेला सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । १ हजार भक्तजनहरुका लागि आवास र साधनाहसहितको धर्मशाला, सनातन संस्कृति संरक्षणकालागि गुरुकुलम पाठशाला, यज्ञशाला, गौमाताको संरक्षणका लागि गौशाला र भक्तहरुको भोजन प्रसादीका लागि पाठशाला निर्माण गर्ने उद्देश्यले महामेलाको आयोजना गरिएको हो ।
शास्त्रमा उल्लेख गरेअनुसार उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले कालीगण्डकीलाई उत्तरवाहिनी भनिएको हो । यहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुने भन्दै संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ ।
उत्तरबाहिनी क्षेत्र पछिल्लो समय धार्मिक पर्यटन क्षेत्रकोरुपमा विकसित हुँदै गईरहेको छ । यहाँ नेपालका विभिन्न जिल्लासहित छिमेकी राष्ट्र भारत लगायतका देशबाट हजारौं श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।