समाचार
स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
वालिङ, २३ कार्तिक ।
नेवाः देय दबू जिल्ला कार्य समिति स्याङ्जाले सामुहिक वेल विवाह र स्याङ्जा सडक महोत्सव गर्ने भएको छ । आउदो माघ २६ देखि २८ गतेसम्म गरिने दुबै कार्यक्रमलाई सभ्य, भब्यरुपमा सफल बनाउनका लागि सरोकारवालाबीच अन्र्तक्रिया एवं सुझाव संकलन गरेको छ ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले बेल विवाह र सडक महोत्सव गर्नु सुखद पक्ष रहेको बताउनुभयो । नेवारी धर्म, कला, संस्कृतिको संरक्षण गर्नुका साथै सबैकालागि स्वीकार्य सडक महोत्सवले नया पन दिने बताउनुभयो । महोत्सवलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सरोकारवालाहरुले महोत्सवका लागि आवश्यक तयारीका बारेमा सुझाव दिदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेवाः देय दबू स्याङ्जाका अध्यक्ष हिक्मत श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संघ ताम्राकारले स्वागत एवं सचिव बिष्णुकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।
सामुहिक बेल विवाहका लागि देशभरबाट जो कोही पनि सहभागी हुन सक्ने बताइएको छ । तीन दिने सडक महोत्सव भने दिउँसो १ बजेदेखि रातको ९ बजेसम्म मात्र गर्नेगरी समयसिमा तोकिएको छ । सडक महोत्सवमा विशेषगरी विभिन्न जातजाती, समुदायका स्टल सहित विशेषगरी खानाका परिकारलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।