समाचार
कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत
वालिङ, २३ कार्तिक ।
नेपाल आर्दश माध्यमिक विद्यालय वालिङका कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका छन् । विद्यार्थीहरुले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई विविध सांस्कृतिक कार्यक्रम सहित स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम समेत गरिएको हो । कार्यक्रममा मिराकल एजुकेशन प्रालीका अध्यक्ष शंकर डुम्रेले यो स्वागत गर्ने संस्कारले विद्यार्थीहरुबीचमा एकआपसमा समझदारी भावनाको विकास हुने बताउनुभयो ।
पुराना विद्यार्थीले नयाँलाई स्वागत गर्दा सानाप्रति आत्मीयता र ठुलाप्रति सम्मानको भाव विकास हुने भएकाले यो संस्कारले निकै राम्रो प्रभाव पारेको अध्यक्ष डुम्रेले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य होमकान्त गौतमले विद्यार्थीलाई अनुशासन, सम्मान, संस्कार र संस्कृतिका विषयमा समेत विद्यालयले विभिन्न कार्यक्रम गर्दै आएको भन्दै स्वागत कार्यक्रम एउटा संस्कार भएको बताउनुभयो । कार्यक्रम रिजन अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन अरुणा अर्याल, इच्छा बस्नेत र रिजन विश्वकर्माले गर्नुभएको थियो ।