समाचार
चापाकोटका होटल र रेस्टुरेन्टहरूमा अनुगमन, भेटियो अनियमितता
वालिङ, २८ कार्तिक ।
स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका सरकारी तथा निजी विद्यालयका क्यान्टिन, किराना पसल, होटल र रेस्टुरेन्टहरूमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा गंगालाल माध्यमिक विद्यालयको क्यान्टिन, किसान बहुप्राविधिक शिक्षालय, जनज्योति माध्यमिक विद्यालय, भूपू सैनिक कालिगण्डकी बोर्डिङ स्कुल, सिद्धबाबा बोर्डिङ स्कुल, बुद्ध सामुदायिक बोर्डिङ स्कुल, खनाल स्टोर्स, चापाकोट एग्रोभेट लगायतका स्थानमा निरीक्षण गरिएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका अधिकृत सोनन्द मल्लका अनुसार अनुगमनका क्रममा विभिन्न अनियमितता भेटिएको छ। उहाँका अनुसार रङ्ग प्रयोग गरी तयार पारिएका खाजा, सरसफाइ बिना सञ्चालन भएका किचन, एप्रोन नलगाई काम गर्ने कर्मचारी, डस्टबिनको प्रयोग नगर्ने, प्लास्टिकका सामग्रीमा खाजा दिने र पुस्तक वा पत्रिकाले छोपेर खाजा राख्ने जस्ता गतिविधि फेला परेका छन्।
बजारमा बिक्रीका लागि राखिएका ट्यागविहीन चाउमिन, रारा ब्रान्डको धुलो खुर्सानी, फिस मसला, मिनरल वाटर, टोकला चियापत्ती लगायतका सामग्रीको नमूना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको अधिकृत मल्लले बताउनुभयो । किसान बहुप्राविधिक शिक्षालयका प्रमुख शिव पाण्डेले नियमित अनुगमन भएमा सहरका नागरिक अझै सचेत र सुरक्षित हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
त्यस्तै चापाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मणि प्रसाद खनालले यस्तो अनुगमन केवल चापाकोटमै सीमित नराखी जिल्लाभर निरन्तर रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।