समाचार
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
वालिङ, १ मंसिर ।
सिद्धार्थ राजमार्गमा गरिएको चेकजाँचका क्रममा पोखराबाट चापाकोटतर्फ जाँदै गरेका एक युवक शनिबार शंकास्पद धातुका गहनासहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका –८ दामाचौरका २९ वर्षीय विष्णु विक रहेका छन् । भीरकोट नगरपालिका –२ दहथुमस्थित राजमार्ग चेकिङमा बिलबिनाका गहना बोकेर हिँडिरहेका विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
प्रहरीले विकको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ५ तोला ६ लाल २ पईन्ट (जन्तर १ थान, मोतीमाला ३ थान, धातुको टुक्रा ४ थान) र चाँदीजस्तो देखिने १० तोला ७३ लाल ३ पईन्ट (बाला ६ जोर) बरामद गरेको जनाएको छ ।
उनी सवार लु २९ प ६०१२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद सामग्रीको परीक्षण तथा धातुको श्रोतबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसैबीच जेनजि आन्दोलनको क्रममा कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका रहेका एक व्यक्ति पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी फेदिखोला, स्याङ्जाबट खटिएको विशेष अप्रेसन टोलीले कास्की महानगरपालिका १८ घर भई फेँदिखोला गाउँपालिका १ बस्ने ३१ वर्षीय सुनिल थापालाई फेँदिखोलाबाट पक्राउ गरिएको हो । थापालाई कानुनी कारबाहीको लागी जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।