समाचार
स्याङ्जा सहयोग समाज बेल्जियमद्धारा बालगृहलाई २० हजार प्रदान
रेडियो आँधीखोला,
वालिङ ८ मंसिर ।
स्याङ्जा सहयोग समाज बेल्जियमले अमोर सेवा नेपाल बालगृहलाई २० हजार नगद प्रदान गरेको छ । स्याङ्जाको फेँदिखोला गाउँपालिका १ कटुँजेमा रहेको बालगृहलाई सोमबार स्याङ्जा सहयोग समाज बेल्जियमका अध्यक्ष हमुनाथ पाण्डेले बालगृहका संचालक कमला पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । गृह जिल्लामा विभिन्न सामाजिक तथा रचनात्मक कार्यका लागी गठित स्याङ्जा सहयोग समाज बेल्जियमले आश्रममा रहेका बालबालिकाको पालन पोषण तथा शिक्षाको लागी केहि सहयोग गर्ने प्रयास गरिएको भन्दै आगामि दिनमा पनि बालगृहका लागी थप सहयोग गर्ने अध्यक्ष पाण्डेले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रसका वालिङ नगरसभापति तथा समाजसेवी नेत्रप्रसाद पाण्डे, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका युवा संयोजक विदुर कोईरालाको विषेश उपस्थिति रहेको थियो । आश्रमका संचालक पराजुलीले समाजप्रति धन्यवाद व्यक्त गर्दै बालबालिकाको शिक्षादिक्षा र उज्यालो भविष्यका लागी सहयोगदाताहरुले सहयोग गर्दै आउनुभएको बताउनुभयो ।
बालगृहमा स्याङ्जा सहित पर्वत, गुल्मी, कास्की, पाल्पा, रुकुम र मुगुका अनाथ तथा सहाराविहीन विहिन ४६ जना बालबालिका रहेका छन् । जसमा २३ जना छात्र र २३ जना छात्राहरुले बालगृहमा रहेका छन् । २०६८ सालमा स्थापना गरिएको बालगृहमा रहेका बालबालिकाहरु विद्यालय समयमा विद्यालय जान्छन् भने विहान बेलुका आश्रममै योग शिक्षा, नैतिक शिक्षा, धर्मसंस्कार र संस्कृतिको शिक्षा आर्जन गर्छन् ।