समाचार
तत्कालित व्यवस्थापन समिति बीच बैठक
रेडियो आँधीखोला
वालिङ, १४ मंसिर ।
पुर्णामृत भवानी माध्यमिक विद्यालयका व्यवस्थापन समिति र अमिलिथुम आधारभुत विद्यालयका तत्कालित व्यवस्थापन समिति बीच बैठक शनिबार पुर्णामृत विद्यालयमा सम्पन्न भएको छ । २०१७ सालमा स्व. कृष्णप्रसाद बगालेलगायतको विषेष सक्रियतामा स्थापना गरिएको अमिलिथुम प्राथामिक विद्यालय वालिङकै दोस्रो प्राथामिक विद्यालय हो । विद्यार्थी संख्यालगायतका विभिन्न कारणले वालिङ ८ घ्याङलीङमा रहेको विद्यालय अहिले पुर्णामृत भवानी माविमा समायोजन गरिएको छ ।
समायोजन पछि दुई विद्यालयका व्यवस्थापन समितिको बैठक बसेर अमिलिथुम प्राथामिक विद्यालय स्थापनादेखि अहिलेसम्म विद्यालयका लागी योगदान पु¥याउने समाजसेवी, शैक्षिक व्यक्तित्व, स्थानीय, शिक्षक, कर्मचारी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै विद्यालको भौतिक, आर्थिक, शैक्षिक पक्षको औपचारिक हस्तान्तरण पनि गरिएको छ ।
वालिङकै पुरानो विद्यालय पुर्णामृत माविमा समायोजन हुनु निकै ठुलो सम्पत्ति भएको भन्दै विद्यालयका चलअचल सम्पत्ति सामाजिक तथा शैक्षिक हितमा प्रयोग गरिने समेत निर्णय गरिएको पुर्णामत भवानी माविका विद्यालय व्यवस्थापन समिति सदस्य यमकान्त खनालले बताउनुभयो । वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमिलिथुम आविका तत्कालिन अध्यक्ष शंकर सुवेदी, संस्थापक चोलाकान्त अर्यालले विद्यालयको थप प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा पुर्णामृत भवानी माविका प्रधानाध्यपाक दिपक लम्सालले पुर्णामृत भवानी र अमिलिथुम विद्यालय दुवै विद्यालयलाई यहाँसम्म ल्याईपु¥याउनुहुने सम्पुर्ण शैक्षिक व्यक्तित्वहरुप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।