समाचार
भीरकोटमा महिला समुहको पञ्चेबाजा प्रतियोगिता हुने
रेडियो आँधीखोला
वालिङ, १६ मंसिर ।
स्याङ्जाको भीरकोटमा महिला पञ्चेबाजा प्रतियोगिता हुने भएको छ । एककिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकासँगको समन्वयमा यही मंसिर २४ गते महिला समुहको पञ्चेबाजा प्रतियोगिता आयोजना गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सचेतनामूलक कार्यक्रम र गीत तथा पञ्चेबाजाको संगीत मार्फत् महिला हिंसा विरुद्ध आवाज बुलन्द बनाउन कार्यक्रम आयोजना गरिएको पौडेलले बताउनुभयो । प्रतियोगिताले मौलिक संस्कृति जगेर्ना र महिला आवाज तथा अधिकार स्थापनामा टेवा पुग्ने विश्वास लिईएको छ । “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं“ भन्ने नाराका साथ चलिरहेको १६ दिने अभियानमा अवसरमा विभिन्न सचेतनामुलक कार्यक्रम संचालन भैरहेका छन्।
कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारद्धारा सांगीतिक प्रस्तुतिको साथै महिला अधिकारकर्मीद्वारा सचेतना कार्यक्रम समेत हुने बताइएको छ । नेपाली मौलिक भेषभूषामा नृत्य समेत प्रस्तुत हुने उक्त कार्यक्रममा र राष्ट्रिय लोकदोहोरी गायक तथा सर्जक लोकनाथ सापकोटा, राष्ट्रिय लोक दोहोरी गायिका तारा पौडेल, पञ्चेवाजा विज्ञ तथा लोकदोहरी गायिका रविना गुरुङ्लगायतले सांगीतिक प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।