समाचार
मौलिक खाना प्रर्वद्धनका लागी वालिङ सडक महोत्सव
कला राना,
वालिङ १६ मंसिर ।
भोलीबाट शुरु हुने प्रथम वालिङ सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । भोलीदेखि १९ गते शुक्रबार सम्म आयोजना गरिएको सडक खाना महोत्सवको अन्तिम तयारीका विषयमा मंगलबार नगरपालिका सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । मौलिक खानालाई प्रर्वद्धन गर्दै बजारसम्म ल्याईपु¥याउन आयोजना गरिएको सडक महोत्सवको नारा “हाम्रो नगरमा हाम्रै खाना स्थानीय वृद्धि हाम्रो चाहाना” भन्ने रहेको छ । स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सदभाव र पहिचान प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहनेछन् ।
६ लाख ५० हजारमा महोत्सव सम्पन्न गरिने
महोत्सव सम्पन्न गर्न नगरपालिकाले ६ लाख रकम विनियोजन गरेको छ । जसमा स्टल भाडाबाट ५० हजार आम्दानी गर्दै नगरपालिकाले ६ लाख ५० हजारमा महोत्सव सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै खर्चमा २ लाख कलाकारको लागी छुट्याएको छ भने साउण्ड सिष्टम १ लाख, स्टल निर्माण २ लाख २५ हजार, अतिथि सत्कारमा २० हजार, प्रचारप्रसारमा ५० हजार, मायाको चिनोमा ५० हजार र विविधमा ५ हजार गर्दै ६ लाख ५० हजार नै खर्च गर्ने योजना बनाएको छ ।
मौलिक खानाको स्वादसंगै जातिय संस्कार र संस्कृति एकै ठाउँमा हेर्न पाईने
महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्रिलगायतका जातजातिहरुको मौलिक परिकारको प्रर्दशनी तथा बिक्रि, जातिय तथा परम्परागत नृत्य, भेषभूषा, लोक संगीत, जातिय रितिरिवाज तथा जीवनशैली एकै थलोमा हेर्न सकिनेछ । आँधीखोले सभ्यता, स्थानिय इतिहास र समग्र नगरको सांस्कृतिक पहिचानलाई समेटेर आयोजना गरिएको महोत्सवमा स्थानीय चुलोचौकाको स्वाद, पुख्र्यौली परिकारदेखि आधुनिक परिकारसम्मको स्वाद लिन पाईनेछ ।
महोत्सवमा स्थानिय कृषिलाई निशुल्क स्टल
महोत्सवमा स्थानीय कृषिलाई निशुल्क स्टलको व्यवस्था गरिएको छ । यहाँका स्थानीय किसानहरुले उत्पादन गरेका फलफूल, तरकारी, बिउविजन तथा कृषि प्रविधि एवं नवीन उद्यमहरुको प्रर्दशनी समेत रहनेछ भने राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिदेखि नगरभित्रका प्रतिभा प्रस्फुटन समेत गरिनेछ ।
मौलिक खानाको प्रर्वद्धनसंगै पर्यटन भित्र्याउने अपेक्षा
महोत्सव तयारीका विषयमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिका प्रमुख कृष्ण खांणले प्रथम सडक महोत्सव स्थानीय तथा मौलिक खानाको प्रर्वद्धन गर्दै पर्यटन आवागमनको विकासका लागी आयोजना गरिएको बताउनुभयो । काम गर्दै जाँदा प्रशंसा र आलोचना दुवै आउने भन्दै महोत्सव सफल पार्नका लागी यहाँका स्थानीय तथा संचार माध्यमको महत्वपुर्ण हात हुने प्रमुख खांणले बताउनुभयो ।
महोत्सवले स्थानीय होटलहरुको प्रर्वद्धन गर्दै मौलिक खानालाई बजारसम्म ल्याउन सहयोग गर्ने बताउँदै महोत्सव व्यवस्थापक तथा नगरप्रवक्ता पदमराज गुरुङले स्थानीय कलाकार र स्थानीय परिकार तथा उत्पादनलाई महोत्सवमा विषेश प्राथामिकता दिईएको बताउनुभयो ।
वालिङ खेलमैदानदेखि सुर्कौँदी पुलसम्म विभिन्न खानाका स्टलहरु रहनेछन् भने महोत्सवलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थादेखि सम्पुर्ण व्यवस्थालाई व्यवस्थित बनाईएको प्रवक्ता गुरुङले बताउनुभयो । महोत्सव दिउँसो १ देखि बेलुका ९ बजेसम्म रहनेछ भने महोत्सव अवधिभर बेलुका वालिङको आकाशमा आतिसबाजीका दृष्यहरुपनि अवलोकन गर्न पाईनेछ ।