समाचार
प्रथम वालिङ सडक खाना महोत्सव शुरु
रेडियो आँधीखोला
वालिङ, १८ मंसिर ।
हिजोदेखी प्रथम वालिङ सडक खाना महोत्सव शुरु भएको छ । “हाम्रो नगरमा हाम्रै खाना स्थानीय वृद्धि हाम्रो चाहाना” भन्ने नाराका साथ मौलिक खाना प्रर्वद्धनको लागी आयोजित महोत्सवमा विभिन्न विद्यालय, विभिन्न समूह, तथा जातिय संघहरुले आ–आफ्ना परिकारका स्टलहरु राखेका छन् । महोत्सवको उद्दघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटिले स्याङ्जाको केन्द्रमा रहेको वालिङ नगरपालिकाले सिमित स्रोत र साधनका बाबजुत पनि नमुना कार्यहरु गर्दै आएको बताउनुभयो ।
पछिल्लो समय नागरिक भाषणप्रति भन्दा मनोरञ्जन र खेलकुदमा बढी आर्कषण हुने बताउँदै वालिङ नगरपालिकाले समय सापेक्ष कार्यक्रमहरुको आयोजना गर्दै नागरिकको मन जित्ने प्रयास गरेको प्रमुख जिटिले बताउनुभयो । स्थानीय मेला महोत्सवमा अर्गानिक तथा मौलिक परिकार र उत्पादनहरुको बजारीकण समेत हुने भएकाले समय समयमा स्थानीय उत्पादनलाई प्राथामिकता दिने यस्ता कार्यक्रमहरु भईरहनुपर्नेमा जोड दिनुभयो । स्वस्थ नागरिक उत्पादनका लागी घरघरबाट विषादी रहित उपजहरु उत्पादनमा नगरपालिकाले अभिप्रेरित गर्नुपर्नेमा प्रमुख जिटिको जोड छ ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले सडक खाना महोत्सवले यहाँका नागरिकलाई फरकपन दिने प्रयास गरिएको भन्दै स्थानीय तथा रैथाने स्वाद र उत्पादन विक्रि गर्ने थलोको रुपमा विकास गर्न खोजिएको बताउनुभयो ।।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले आधुनिक जिवनशैलीका कारण परम्परागत खाना तथा अर्गानिक उपजहरु ओझेलमा पर्ने अवस्था रहेको भन्दै त्यस्ता जिवनशैली र खानाको प्रर्वद्धनका लागी महोत्सवको आयोजना गरिएको बताउनुभयो । महोत्सवको पहिलो दिनमा विभिन्न विद्यालय तथा समुहहरुले आफ्ना प्रस्तुति राखेका थिए भने चर्चित गायक श्याम राना, जगत गौडेल, तारा पौडेल, बत्तिकुमारी थापा, सम बस्यालले आफ्ना सांगितिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । भने आज गायक राजु गुरुङ, कार्यक्रम सञ्चालक गोपाल जिटी गायीका सुनिता नेपाली, रबिना गुरुङ, कृष्ण मल्ल ठकुरी, मोडल सगुन थापा, जस्मिन थापा लगायतको प्रस्तुति रहनेछ ।
स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सदभाव र पहिचान प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहेका छन् ।
महोत्सव सम्पन्न गर्न नगरपालिकाले ६ लाख रकम विनियोजन गरेको छ । जसमा स्टल भाडाबाट ५० हजार आम्दानी गर्दै नगरपालिकाले ६ लाख ५० हजारमा महोत्सव सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यस्तै खर्चमा २ लाख कलाकारको लागी छुट्याएको छ भने साउण्ड सिष्टम १ लाख, स्टल निर्माण २ लाख २५ हजार, अतिथि सत्कारमा २० हजार, प्रचारप्रसारमा ५० हजार, मायाको चिनोमा ५० हजार र विविधमा ५ हजार गर्दै ६ लाख ५० हजार नै खर्च गर्ने योजना बनाएको छ ।
महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्रिलगायतका जातजातिहरुको मौलिक परिकारको प्रर्दशनी तथा बिक्रि, विद्यालयका अर्गानिक खानाहरु, जातिय तथा परम्परागत नृत्य, भेषभूषा, विद्यार्थीहरुका प्रतिभा, लोक संगीत एकै थलोमा हेर्न सकिनेछ । महोत्सव दिउँसो १ देखि बेलुका ९ बजेसम्म रहनेछ भने महोत्सव अवधिभर बेलुका वालिङको आकाशमा आतिसबाजीका दृष्यहरुपनि अवलोकन गर्न पाईनेछ ।