समाचार
नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन तथा ओसारपसार गर्ने टिप्पर नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, २० मंसिर ।
प्रहरीले नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन तथा ओसारपसार गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ । नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार–पसार गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले ग १ क ५०९० नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।
वालिङ नगरपालिका वडा नम्बर –९ सुर्कौदी स्थित बाहुनथान मिर्दी सडक खण्डमा ढुङ्गा ओसार–पसार गरिरहेको अवस्थामा टिप्परलाई फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वालिङ नगरपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
त्यस्तै स्याङ्जाको फेदीखोला क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा र गिट्टी उत्खनन तथा ओसारपसार गर्ने दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध उत्खनन तथा ओसारपसारमा संलग्न ग १ त ७१३३ र ग १ त ५४१८ नम्बरका ट्याक्टरलाई फेदीखोला गाउँपालिका–२ र ३ को सिमाना सेतीखोला–भाटखोला क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
प्रहरीले दुवै ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि फेदीखोला गाउँपालिका कार्यालय पठाएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । प्रहरीले अवैध उत्खनन रोक्न जिल्लामै निगरानी कडा पारेको जनाएको छ ।