समाचार
स्याङ्जामा यसवर्ष धान उत्पादन वृद्धि
वालिङ, २३ मंसिर ।
स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा करिब २ प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ । ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि विज्ञ नारायणप्रसाद पाठकका अनुसार स्याङ्जामा वर्षे धान खेति हुने क्षेत्रफल ९ हजार ७२ हेक्टरमा गत वर्ष ३६ हजार ५६० मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष सोहि क्षेत्रफलमा ३७ हजार २९१ मेट्रिक टन धान उत्पादन भएको हो । जिल्लामा चैते धान भने ६७ हेक्टर क्षेत्रफलमा मात्रै हुने गरेको छ ।
उक्त क्षेत्रफलमा गतवर्ष ३०६ मेट्रिक टन धान उत्पादन भएको थियो । जसमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.५ रहेको छ । वर्षे धानको तुलनामा चैते धानको उत्पादन बढि हुने भएपनि जिल्लामा चैते धान खेति गर्ने कृषकहरु घट्दो अवस्थामा रहेको छ । वर्षे धानको उत्पादकत्व प्रतिहेक्टर ४.१ मेटन रहेको छ । पछिल्लो समय कृषकहरु हाईब्रिड धानखेतिमा आकर्षित हुनु, कृषि ज्ञान केन्द्र तथा स्थानीय पालिकाहरुले अनुदानमा धानका बिउहरु वितरण गर्नु, ज्ञान केन्द्रसंगै स्थानीय कृषि कार्यालयहरुले प्राविधिक सहयोग गर्नु, सिंचाईको प्रयाप्त सुविधा, रोगकिरा व्यवस्थापनलगायत मौसम अनुकुलका कारण धान उत्पादन बढेको हो ।
कृषि ज्ञान केन्द्रले मात्रै ९ हजार ४४२ किलो रामधान, २१०० सामा मन्सुुली, ९०० किलो जेठोबुढो जातको धानको विउ ७५ प्रतिशतमा वितरण गरेको थियो । धान काट्ने बेलामा बेमौसमी वर्षा भएपनि स्याङ्जामा भने उत्पादनमा खासै क्षति गरेन । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पाठकका अनुसार छिटो काटेका धानमा आंशिक क्षति भएपनि उत्पादनमा कमी भएन यद्यपी गुणस्तरमा भने केहि कमी देखिएको छ ।
स्याङ्जामा स्थानीय जातका अनदी, कालोझिनुवा, एक्ले, पोख्रेली जेठोबुढोलगायतका धानखेति गरिन्छ भने रामधाम, सावित्रि जस्ता उन्नत धानका बिउ पनि कृषकको रोजाईमा पर्ने गरेको छ भने यहाँ यूएस ३१२ जातको हाईब्रिड धान पनि लगाउने गरिएको छ । जिल्लामा २५ प्रतिशत धान खेति हुने क्षेत्रफल हाईब्रिड जातका धानले ओगटेको छ ।