समाचार
कालिका मावि झापाकोटमा सैद्धान्तिकसंगै प्रयोगात्मक ज्ञान पनि
कला राना,
वालिङ २३ मंसिर ।
कालिका माध्यामिक विद्यालय पुतलीबजार १३ झापाकोट स्याङ्जाले आलु खेति गरेको छ । कृषि विकास कार्यालय स्याङ्जाले विद्यालयलाई अनुदानमा आलुको बिउ उपलब्ध गराएपछि विद्यालयले ६१० किलो आलु लगाएको हो । विद्यालयले कृषि विकास कार्यालयको बाली विकास कार्यक्रम अन्र्तगत अनुदानमा प्राप्त जनकदेव, खुमल रातोलगायतका जातको आलु लगाएको हो । विद्यालयमा आस्क नेपालको सहयोगमा गड्यौले मल र प्राङगरिक कृषि पाठशाला समेत गुरु गर्ने तयारी गरेको छ । यस कार्यक्रमले विद्यालयले लगाउने तरकारी बाली तथा अन्य खाद्यान्न बालीमा सहयोग पुग्नेछ ।
विद्यालयले गतवर्ष ५१ ह्जार रुपैँयाको मकै र ६६ हजार ६५५ रुपैँयाको धान बिक्रि गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोईरालाले बताउनुभयो । विद्यालयले ७ रोपनी जग्गा भाडामा लिएर विगत ३ वर्षदेखि आलु खेति गर्दै आएको छ भने संगै खाद्यान्न खेति समेत गर्दै आएको छ । विद्यालयको ६० रोपनी जग्गा मध्येको जग्गामा गतवर्ष ३०० सुन्तलाका बिरुवा लगाईएको छ भने अर्को वर्ष थप दुई सय गरेर ५०० सुन्तलाका विरुवाहरु लगाउने योजनामा विद्यालय अगाडि बढेको अध्यक्ष कोईरालाले बताउनुभयो ।
कृषि क्षेत्रमा अब्बल कोईराला विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि विद्यालयमा कृषिका कार्यहरु हुँदै आएका छन् । यसरी विद्यालयले कृषिका क्षेत्रमा काम गर्दा विद्यार्थीलाई प्रयोगात्मक ज्ञान समेत हुँने र विद्यालयलाई आम्दानीको स्रोत बढ्ने अध्यक्ष कोईरालाले बताउनुभयो । कृषिबाट आएका पैसा विद्यालयले विद्यालयकै अतिरिक्त क्रियाकलापहरुमा खर्च गर्ने गरेको छ भने दिवा खाजामा समेत प्रयोग गर्दै आएको छ ।
पुतलीबजारको विकट स्थानमा रहेको विद्यालयमा सिमान्तकृत, माझी, दलित, विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा ५७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले उत्पादन गरेका उपजहरु विद्यालय परिवारभित्रै अभिभावक तथा शिक्षकहरु र स्थानीयले किन्ने गरेका छन् । विद्यालयलाई निकट भविष्यमै नमुना विद्यालयको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष कोईरालले बताउनुभयो ।