समाचार
स्याङ्जामा आलु उत्पादनमा वृद्धि,सबैभन्दा धेरै वालिङमा
वालिङ, २५ मंसिर ।
स्याङ्जामा आलु उत्पादनमा वृद्धि हुने भएको छ । आलु खेती गरिने जमिनको क्षेत्रफल र उत्पादकत्व बढेपछि आलु उत्पादनमा वृद्धि हुने भएको हो । गत वर्षको तुलनामा जिल्लामा झण्डै ७ हजार मेट्रिकटन धेरै आलु उत्पादन हुने भएको छ ।
गएको आर्थिक वर्ष २०८१÷०८२ मा करिब एक हजार ९३० हेक्टर क्षेत्रफलमा आलु लगाउदा झण्डै ३३ हजार ५५ मेट्रिकटन आलु उत्पादन भएको थियो । चालु वर्षमा दुई हजार हेक्टर क्षेत्रफलमा लगाएको आलु करिब ४० हजार मेट्रिकटन उत्पादन हुने भएको छ । आलु लगाउने जमिन ७० हेक्टर क्षेत्रफल मात्र थपिदा उत्पादकत्व बढेर ७ हजार मेट्रिकटन बढि आलु उत्पादन हुने भएको हो ।.
स्याङ्जाका ५ नगरपालिकामध्ये वालिङमा सबैभन्दा धेरै ४५० हेक्टरमा गएको वर्ष ७ हजार ६९९ मेट्रिकटन आलु उत्पादन भएको थियो । भीरकोटमा ३२० हेक्टरमा ५ हजार ४७५, गल्याङमा तीन सय हेक्टरमा ५ हजार १३३ मेट्रिकटन आलु उत्पादन भएको थियो । चापाकोटमा १८४ हेक्टरमा तीन हजार १४९ मेट्रिकटन र पुतलीबजारमा १६५ हेक्टरमा दुई हजार ८२४ मेट्रिकटन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाका ६ गाउँपालिकामध्ये सबैभन्दा धेरै फेदीखोला गाउँपालिकामा १२० हेक्टरमा दुई हजार ५४ मेट्रिकन आलु उत्पादन भएको थियो भने आँधीखोलामा ९५ हेक्टरमा एक हजार ६२५ मेट्रिकटन आलु उत्पादन भएको थियो । अर्जुनचौपारीमा ९५ हेक्टरमा एक हजार ६२५ मेट्रिकटन उत्पादन हुँदा कालीगण्कडीमा ९३ हेक्टरमा एक हजार ५९० मेट्रिकटन आलु उत्पादन भएको कार्यालयका कृषि अर्थ विज्ञ नारायण पाठकले जानकारी दिनुभयो ।
त्यसैगरी बिरुवा गाउँपालिकामा ७० हेक्टर क्षेत्रफलमा एक हजार १९८ मेट्रिकटन आलु उत्पादन हुँदा हरिनाशमा ४० हेक्टरमा ६८५ मेट्रिकटन आलु उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढिमात्रामा ठूलीबेशी, लामागे, चारखुट्टे, वयरघारी, डौवा, मिर्दि, वालिङ, जिमुवा र चापाकोट फाँटमा जनकदेव, खुमल सेतो लगाएत जातका आलुको बीउ लगाउने गरिएको छ ।
जिल्लामा उत्पादित ४० हजार मेट्रिकटन आलुमध्ये झण्डै १९ हजार मेट्रिकटन आन्तरिक खपत हुनेछ । बाँकी रहेको २१ हजार मेट्रिकटनमा चार मेट्रिकटन आलु बीउको रुपमा प्रयोग गरिन्छ भने झण्डै १७ मेट्रिकटन आलु जिल्ला बाहिर निर्यात हुँदै आएको छ । हिउँदे आलुुँगै जिल्लामा झण्डै ८० हेक्टर क्षेत्रफलमा एक हजार मेट्रिकटन वर्षे आलु उत्पादन हुने गरेको छ ।