समाचार
गल्याङ जेसीजको ‘जेसीज सप्ताह २०२५’ सार्वजनिक
वालिङ, २७ मंसिर ।
गल्याङ जेसीजले ‘जेसीज सप्ताह २०२५’ का कार्यक्रमहरू सार्वजनिक गरेको छ । हिजोदेखी शुरु भएको कार्यक्रम पौष ३ गतेसम्म सञ्चालन हुने सप्ताहमा स्वास्थ्य, वातावरण, सांस्कृतिक संरक्षण र नेतृत्व विकास सम्बन्धी १५ भन्दा धेरै कार्यक्रम समावेश गरिएको छ ।
कार्यक्रमको सुरुवात हिजो बटुक भोजनबाट गराईएको छ । त्यस्तै आज रक्तदान कार्यक्रम हुनेछ । जेसीजका अनुसार रक्तदानले समुदायमा स्वास्थ्य सचेतना र सहकार्यको सन्देश प्रवाह गर्ने भएकाले यसलाई सप्ताहको महत्वपूर्ण गतिविधिका रूपमा राखिएको हो ।
यस वर्षको सप्ताहमा सेयर बजार सम्बन्धी तालिम, विद्यालयस्तरीय ट्राफिक सचेतना, स्लो बाइक रेस, फोहर टिप्ने प्रतियोगिता, जेब्राक्रसिङ निर्माण, सडक साइनबोर्ड सरसफाई र वातावरणीय स्वच्छता अभियान जस्ता गतिविधिहरू सञ्चालन गरिनेछन् । यी कार्यक्रमहरूले स्थानीय स्तरमा सीधा प्रभाव पार्ने र समुदायलाई सक्रिय भूमिकामा ल्याउने अपेक्षा गरिएको छ ।
गल्याङ क्षेत्रको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको सेतिवेणी सालिग्राम शिला संरक्षण तथा प्रवद्र्धन कार्यक्रम यस वर्षको मुख्य आकर्षण मानिएको छ । यसले गल्याङको सांस्कृतिक मूल्य बढाउने र आन्तरिक बाह्य पर्यटकको ध्यान केन्द्रित गर्ने विश्वास व्यक्त गरिएको छ । संस्थाले पूर्व अध्यक्ष तथा संस्थापक माथि सम्मान कार्यक्रम तथा जेसीज पारिवारिक वनभोजसमेत आयोजना गर्दै संगठन भित्र एकता, निरन्तरता र सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ ।
स्थानीय निकाय, विद्यालय, सामाजिक संघ–संस्था तथा समुदायको सहकार्यमा सञ्चालन हुने यी कार्यक्रमहरूले गल्याङलाई स्वास्थ्य, सामाजिक चेतना, वातावरणीय स्थिरता र पर्यटन प्रवद्र्धनमा थप सशक्त नगरका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको अध्यक्ष ज्ञानेन्द्र पाठकले जानकारी दिनुभएको छ ।