समाचार
“हाडनाता करणी” मुद्दाका फरार कसूरदार २५ वर्ष पछी पक्राउ ।
रेडियो आँधीखोला
वालिङ, २ पौष ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हाडनाता करणी मुद्धामा फरार रहेका कसूरदारलाई २५ वर्षपछि नियनन्त्रमा लिएको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि प्रहरीले पछिल्लो समय फरार कसूरदार पक्राउ अभियान नै चलाएर अगाडि बढेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अप्रेसन टोलीले फेँदिखोला गाउँपालिका २ का ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई पक्राउ गरेको हो । सापकोटालाई अदालतले २०५७ साल बैशाख २१ गते हाडनाता करणी आरोपमा मुद्धा फैसला भई ३ महिना कैद सुनाएको थियो । सापकोटा फेँदिखोला २ बाट पक्राउ परेकी हुन् । सापकोटालाई जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा चलान भएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैबीच वैदेशिक रोजगारी मुद्धामा २७ वर्षदेखि फरार एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पुतलीबजार ९ का ७० वर्षीय कृष्णकुमारी गुरुङलाई पक्राउ गरेको हो । ९९ हजार १५० जरीवाना तोकिएकी गुरुङलाई जरिवाना असुलको लागि जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।