समाचार
उपकार सहकारीको ३३ औं वार्षिक साधारणसभा अन्र्तगत मिर्मि सेवा केन्द्रको साधारण सभा
रेडियो आँधीखोला
वालिङ, ३ पौष ।
गण्डकी प्रदेशकै प्रतिष्ठित संस्था मध्येको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा जारी रहेको छ । वालिङमा मुख्य कार्यालय रहेको सहकारीले ४ वटा सेवाकेन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थाको कार्यक्रम अनुसार दोस्रो दिन बुधबार मिर्मि सेवा केन्द्र कालिगण्डकी ७ को इकाइ साधारण सभा सम्पन्न भएको छ ।
पौष ३ गते वालिङ–१३ को बायँटारी, ४ गते सदस्य सम्पर्क कार्यालय वालिङ– ७ को केवरे र ५ गते वालिङ सेवाकेन्द्रमा इकाई साधारणसभा गर्ने सहकारीले जनाएको छ । यसैगरी ६ गते वालिङमा इकाई प्रतिनिधीहरुको उपस्थितिमा ३३ औं वार्षिक साधारणसभा सम्पन्न गरिने संस्थाका अध्यक्ष यमकान्त खनालले जानकारी दिनुभयो ।
२०५० सालमा २७ जनाले रु.२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले महिला ४ हजार ३ सय ३४, पुरुष ४ हजार ८६ जना र अन्य १३ गरी कूल ८ हजार ४ सय ३३ जना शेयर सदस्य छन् । संस्थाले गएको असार मसान्तसम्म ७ करोड ८९ लाख ३४ हजार ५ सय शेयर पुँजी रहेको छ । यसैगरी ८३ करोड २२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष खनालले उल्लेख गर्नुभयो । ६६ करोड ९९ लाख ८३ हजार ४ सय ७९ रुपैयाँ निक्षेप रहेको सहकारीले कूल ५१ करोड ४९ लाख ९ हजार ६ सय ५२ लगानी गरेको छ ।
संस्थाको अभिलेखमा कूल मुनाफा रु.१ करोड २२ लाख २७ हजार ९६ गरेको देखिन्छ भने एन एफ आर एस लेखा परीक्षणपछिको अभिलेख अनुसार बाँडफाँट योग्य नाफा रु.८ लाख ३० हजार मात्र रहेको छ । स्याङ्जामा एन एफ आर एस लेखा परीक्षण उपकार र सूर्योदय सहकारी गरी जम्मा दुई वटाले मात्र गर्दछन् ।
संस्थाले जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ७ वटा पालिकालाई समेटेको छ । जसमा वालिङ, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका रहेका छन् भने गाउँपालिकाहरुमा कालिगण्डकी, बिरुवा र हरिनाससम्म कार्यक्षेत्र विस्तार गरेको छ ।