समाचार
नवौं वालिङ महोत्सव माघ १४ देखि २५ सम्म खेलमैदानमा हुने
रेडियो आँधीखोला
वालिङ, १५ पौष ।
‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनारासहित नवौं वालिङ महोत्सव माघ १४ गतेदेखि सुरु हुने भएको छ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा वालिङ ८ स्थित खेलमैदानमा महोत्सव गर्ने तयारी गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहनुभएका श्रेष्ठले वालिङ महोत्सवलाई समग्रमा स्याङ्जा जिल्लाकै साझा महोत्सवकारुपमा विकास गर्ने गरी अगाडि बढेको बताउनुभयो । महोत्सवका माध्यमबाट समृद्ध वालिङकालागि समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासकासाथै उद्योग व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने उहाँले बताउनुभयो ।
वालिङ तथा समग्र स्याङ्जाभित्र रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्र, कृषि तथा पशुपालन, औद्यागिक व्यापार व्यवसायहरुमा देखिएका संभावनाहरुको प्रचार प्रसार गरी लगानी भित्र्याउनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वालिङ महोत्सवकाकारण गाउँ गाउँका मानिसहरु बजार आउने र ब्यापार ब्यवसाय थप वृद्धि हुने भएकाले यसलाई अवसरकोरुपमा लिनुपर्ने उहाँले बताउनुभयो । बाहिरबाट आउने ब्यापारी ब्यवसायीलाईभन्दा वालिङका स्थानीय ब्यापारी ब्यवसायीलाई सस्तो र विशेष छुटमा ब्यापार ब्यवसाय गर्ने वातावरण आयोजकले मिलाउने बताउनुभयो ।
कार्यक्रममा महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ महोत्सव यहाँको ब्राण्ड भएकाले वालिङको ब्राण्डलाई थप उचाईमा लैजाने यो नवौं महोत्सवले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । वालिङ महोत्सवको व्यवस्थापकीय, प्रर्वद्धनात्मकलगायतका विषयमा धेरै ठाउँमा चर्चा हुने गरेको भन्दै महोत्सवले गाउँगाउँमा उत्पादन भएका उत्पादनहरुलाई बजारीकरण गर्न सहयोग पुगेको निर्देशक पौडेलको भनाई छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोईरालाले स्याङ्जाको पहिचानकोरुपमा रहेको वालिङ महोत्सवलाई सफल बनाउनकालागि जिल्लाका मिडिया तथा सञ्चारमाध्यमहरुले सकारात्मक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी ३५० स्टलहरु रहनेछन् । महोत्सवबाट एक करोड ६८ लाख आम्दानी हुने र एक करोड १४ लाख ५१ हजार खर्च भई करिव ५३ लाख ४९ हजार वचत गर्ने लक्ष्य आयोजकको छ ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवको संरक्षक संस्थाको रुपमा वालिङ नगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् भने प्रवद्र्धककोरुपमा नेपाल पर्यटन बोर्ड रहको छ ।
महोत्सवमा औद्योगिक व्यापार मेला, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, स्याङ्जा डान्स आईडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, टिकटक प्रतियोगिता, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, बाल उद्यान, हस्तकलाका सामग्रीहरु आकर्षणकारुपमा रहने छन् ।
महोत्सवमा विद्यार्थीकालागि ७० र अन्यका लागि एकसय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । साँझ ५ बजेपछि भने प्रति टिकट रु. २५० निर्धारण गरिएको छ ।
पत्रकार सम्मेलन उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत तथा पत्रकार सम्मेलनकाबारेमा जानकारी सचिव एवम् प्रचार प्रसार उपसमिति संयोजक पिताम्बर खनाल (सुशील) ले गर्नुभएको थियो । धन्यवाद उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले र सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।