समाचार
स्याङ्जाको चापाकोटमा तेस्रो चापाकोट महोत्सव हुने
वालिङ, १६ पौष ।
स्याङ्जाको चापाकोटमा तेस्रो चापाकोट महोत्सव हुने भएको छ । यही पुस २५ गतेदेखि माघ ६ गतेसम्म चापाकोट नगरपालिका–९ स्थित गङ्गालाल माध्यमिक विद्यालयको खेल मैदानमा तेस्रो चापाकोट कृषि तथा औद्योगिक मेला हुने भएको हो ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको मेलामा कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन, बाल उद्यान, शैक्षिक प्रदर्शनी, खाना–खाजा, लत्ताकपडा तथा भाडाकुडा सम्बन्धी स्टलहरू रहने आयोजकले जनाएको छ । मेलालाई थप आकर्षक बनाउन लन्डन ब्रिज, आइफल टावर, प्याराग्लाइडिङ, ¥यफ्टिङ, हेलिकप्टरद्वारा सुन्दर तथा मनोरम दृश्य अवलोकन विशेष आकर्षक रहने चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो ।
करिब १५० वटा स्टल रहने मेलामा देश तथा विदेशमा चर्चित कलाकारहरूको प्रस्तुति समेत रहनेछ । मेलाबाट करिब १ करोड रुपैयाँको आर्थिक कारोबार हुने र ३० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मेलाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा आर्थिक चलायमानमा टेवा पुग्ने विश्वास लिइएको छ ।