समाचार
४१ जनामा मोतियाबिन्दुको समस्या
रेडियो आँधीखोला
वालिङ, १६ पौष ।
स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जनामा मोतियाबिन्दुको समस्या भेटिएको छ ।
नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालद्वारा वालिङ नगरपालिकाको आयोजना तथा आइकेयर फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।
हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा चश्मा आवश्यक देखिएका ५६ जना बिरामीलाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो ।
हिमालय आँखा अस्पतालका नेत्ररोग विषेशज्ञ डा. कृष्णा गुरुङको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । अस्पतालले विभिन्न विकास साझेदारहरूसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गर्दै आइरहेको छ ।
ग्रामीण क्षेत्रका न्यून आय, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको छ ।