समाचार
चापाकोटमा धुप निर्माण तालीम सञ्चालन
वालिङ, १६ पौष ।
स्याङ्जाको चापाकोट नगरपालिका ९ मा सुस्केरा फाउन्डेसन नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूकालागि धुप निर्माण तथा टोपी–स्विटर सिलाइ बुनाइसम्बन्धी ८ दिने सीपमूलक तालिम सुरु भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले सीपमूलक तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो । उहाँले अपाङ्गता अधिकारको संरक्षणकालागि गण्डकी प्रदेश सरकारले विधेयक नै पास गरी उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले आँफू सधैं आवाजविहीनहरूको आवाज बन्ने उद्देश्यसहित प्रदेश सभा सदस्य बनेको बताउँदै सहभागीहरूलाई सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।
त्यसैगरी, चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाण (ईश्वर), प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालालगायत वक्ताहरूले यस्ता तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै सामाजिक समावेशीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सुस्केरा फाउन्डेसनका संस्थापक सल्लाहकार दिपा वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भुवन भण्डारीले गर्नुभएको थियो । ८ दिनसम्म सञ्चालन हुने तालिममा ७० जनाको सहभागिता रहेको छ ।