अहिले तरंगमा

केहि छिनमा

समाचार

श्रीस्वस्थानी व्रत शुरु

news

 
पुस १८, काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ । तिथिका आधारमा मनाइने भएकाले यो पर्व प्रत्येक वर्ष फरक–फरक मितिमा पर्छ । यस वर्ष आजबाट आरम्भ भएको श्रीस्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ । यस अवधिमा व्रत बस्दा वा कथा श्रवण गर्दा सत्य मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने, धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने विश्वास गरिन्छ ।
पौराणिक मान्यताअनुसार श्रीस्वस्थानी व्रतको सुरुवात सत्ययुगमा भएको मानिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र श्रीस्वस्थानी माताको व्रत गरेकी थिइन् । लामो समयसम्म व्रत, साधना र संयमको अभ्यासपछि पार्वतीको मनोकामना पूरा भई भगवान् शिवसँग विवाह भएको शास्त्रहरूमा उल्लेख छ । यही कारण श्रीस्वस्थानी व्रतलाई मनोकामना पूर्ति गराउने व्रतका रूपमा लिइन्छ ।
मार्कण्डेय पुराणको हिमवत् खण्डमा यस व्रतको विधि, महत्त्व र कथाहरू विस्तारपूर्वक वर्णन गरिएको छ । यस व्रतले सत्य, धैर्य, संयम र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिन्छ ।
परम्परागत रूपमा विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिका लागि श्रीस्वस्थानी व्रत बस्ने गर्दछन् । अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्ति, सफल विवाह तथा जीवनमा स्थायित्वको कामनासहित व्रत लिने चलन छ । पछिल्लो समय अध्ययनमा सफलता, रोजगारी, व्यापार उन्नति, स्वास्थ्य लाभ, विदेश यात्रा, सन्तान प्राप्ति, मानसिक शान्ति तथा पारिवारिक सुख–शान्तिका लागि समेत श्रद्धालुहरूले यो व्रत बस्ने गरेका छन् । श्रीस्वस्थानी व्रतलाई बाह्य पूजामात्र नभई आत्मसंयम र आत्म शुद्धिको माध्यमका रूपमा लिइन्छ ।
शास्त्रीय विधानअनुसार श्रीस्वस्थानी व्रत सुरु गर्नुभन्दा एक दिनअघि हात–खुट्टाका नङ काटी, शरीर शुद्ध गरी एक छाक मात्र भोजन गर्नुपर्दछ । पौष शुक्ल पूर्णिमाका दिन बिहान सबेरै उठी पवित्र नदी, खोला, तलाउ वा घरमै स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ ।
पूजा स्थल सफा गरी तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवा वा माटोले शिवलिङ्ग स्थापना गरिन्छ । तिल, जौ, कुश, अक्षता, बेलपत्र, जनै, सुपारी, पान, धूप, दीप, फलफूल र नैवेद्यको व्यवस्था गरिन्छ । त्यसपछि “आजदेखि म एक महिनासम्म श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्दछु” भनी दृढ सङ्कल्प गरी व्रत सुरु गरिन्छ ।
व्रत अवधिभर प्रत्येक दिन सूर्य उदय हुनुअघि स्नान गरी नित्यकर्म गर्नुपर्ने मान्यता छ । बिहान पूजा, मध्यान्हपछि कथा श्रवण र साँझ पुनः ध्यान गर्ने परम्परा रहिआएको छ । व्रत बस्नेले झगडा नगर्ने, दुर्वचन नबोल्ने, नकारात्मक सोच नराख्ने र असत्य मार्गबाट टाढा रहने प्रयास गर्नुपर्दछ ।
व्रतको क्रममा मासिक धर्म (रजस्वला) भएमा शास्त्रीय नियमअनुसार पाँच दिनसम्म पूजा स्थगित गरी शुद्ध भएपछि पुनः पूजा सुरु गर्नुपर्ने व्यवस्था छ, जसलाई धार्मिक शुद्धता र अनुशासनको प्रतीक मानिन्छ ।
व्रत अवधिभर दीप, कलश, गणेश, शिव र श्रीस्वस्थानी माताको पूजा गरिन्छ । वैदिक मन्त्रोच्चारणसहित पूजा गर्दा मन, वचन र कर्मले जानी–नजानी गरिएका पाप नाश भई आत्मा शुद्ध हुने विश्वास छ । व्रतालुहरूले यस लोकमा सुख, शान्ति र समृद्धि तथा मृत्युपछि स्वर्ग प्राप्तिको कामनासमेत गर्ने परम्परा रहेको पाइन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...