समाचार
वालिङ, ४ को सुन्तला बगानमा रोगको महामारी, कृषक चिन्तित
वालिङ, २४ पौष ।
समग्र स्याङ्जा जिल्लामा सुन्तला उत्पादन बढिरहेका बेला वालिङ ४ मा भने सुन्तलाका बोट सुक्दै जान थालेपछि कृषकहरु चिन्तित भएका छन् । सुन्तला सुपरजोन अन्तर्गत वालिङ नगरपालिका ४ को खाल्टे सुन्तला गाउँमा मात्रै ३३ घरधुरी किसानहरुको मालिकादेवी उद्यमशील कृषक समूह छ । यहाँ फल दिने र फलदिने तयारीमा रहेका गरी करिव १५ हजार सुन्तलाका बोट छन् । विगतका वर्षमा करिव डेढ करोडको आम्दानी भएको थियो भने अहिले राम्रोसँग फलेका भए त्यो भन्दा धेरै आम्दानी हुने सहजै अनुमान गर्न सकिन्छ ।
तर यो वर्ष बोटहरुमा रोग लागेर उत्पादन निकै घटेकाले किसानहरुमा निराशा छाएको छ । अहिले सबैको गरेर जम्माजम्मी ३० लाखसम्म आम्दानी हुने अनुमान रहेको समूहका अध्यक्ष प्रेम गुरुङ बताउनुहुन्छ । आफ्नो ६० बोटले मात्रै वार्षिक ३ लाख भन्दा धेरै आम्दानी दिने गरेको उहाँको भनाई छ । अध्यक्ष गुरुङको करिव ५० रोपनीमा फल दिने तयारीका बिरुवा हुर्किरहेका छन् । उहाँका करिव ८ सय बोट आगामी वर्षदेखि फलदिने तयारीमा छन् । तर रोग फैलिएसँगै आफूलगायत समूहका सबै किसानलाई निराश पारेको गुरुङ बताउनु हुन्छ ।
गाउँ छाडेर वालिङ पोखरा तथा बुटवल गएकाहरु पनि फर्केर सुन्तला लगाउन थालेका थिए । केहीले लगाईसकेका थिए भने कोही आउने तयारीमा थिए । तर सुन्तलाका बोटमा रोग लागेर फाल्न वा हटाउनुपर्ने अवस्थाले सबैलाई निराश पारेको छ ।
सुन्तला सुपरजोन स्याङ्जाका अनुसार रोग लागेका सबै बोट काटेर फाल्नुपर्ने हुन्छ । भएका बोटहरुमा महामारीकै रुपमा रोग फैलिएर हटाउनुपर्ने भएपछि सबैजनालाई निराश पारेको हो । यसअघि वर्षातका समयमा औंशा किरा लागेर थप समस्या दिएको थियो । योसँगै अहिले अधिकांश सुन्तलाका बोटहरुमा भित्रि हाँगा सुक्ने, पात पहेंलिदै जाने र फल पनि राम्रोसँग नलाग्ने भएका छन् ।
अध्यक्ष गुरुङका अनुसार सुन्तलाका बोटमा रोग देखिएको ५ वर्ष जति भयो अहिले त्यही रोग बढेर फैलिएको हो । रोग लागेदेखि सुन्तला सुपरजोनले बोट काट्न सुझाएको थियो । त्यसका लागि केही सहयोग पनि आएको र उक्त सहयोगले मात्रै नपुग्ने भएपछि किसानहरुले पनि सुन्तलाका रुख काट्न मानेनन्, । यतिसम्म कि एउटा गरामा वा प्लटमा भएका एक दुई वटा बोटमा रोग लागेको देखिएमा भएका सबै काटेर फाल्नुपर्ने सुपरजोनले सल्लाह दिएको थियो । सुपरजोनको सल्लाह अनुसार गर्न नसक्दा पनि अहिले ठूलो समस्या आएको अध्यक्ष गुरुङ बताउनुहुन्छ । स्वादिलो सुन्तला, बगानको सुन्दरता र शान्त वातावरणमा यहाँ सञ्चालित सुन्तलाबारी होमस्टेमासमेत असर पुगेको छ ।