समाचार
स्याङ्जाको कालीगण्डकीमा ३ सन्तान जन्माउनेलाई मासिक ४ हजार प्रोत्साहन
रेडियो आँधीखोला,
वालिङ २५ पुस ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ३ सन्तान जन्माउनेलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गर्ने भएको छ । पालिकाले घट्दो जनसंख्या दरलाई वृद्धि गर्न, परिवारलाई सन्तानप्रतिको सकरात्मक प्रेरणा दिने तथा दीर्घकालिन जनसंख्या सन्तुलन राख्नका लागी यो कार्यक्रम ल्याएको हो । पोषणमैत्रि स्थानीय शासन कार्यान्वयको उद्देश्यलले यस गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने कार्यविधि नै ल्याएको छ ।
उक्त कार्यविधि अनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने २०८२ साल श्रावण महिना भन्दा पछाडि तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजपत्र सम्बन्धीत वडा कार्यालयमा पेश गर्नुपर्नेछ । तेस्रो सन्तान जन्माउने परिवारले निवेदन पत्र, बुवाआमाको नागरिकताको प्रतिलिपि, ३ वटै सन्तानको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, बसाईसराई आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि, नेपाल सरकारको सूचिकृत स्वास्थ्य संस्थामा उक्त सन्तान जन्मिएको हुनुपर्नेछ ।
२०६८ को जनगणना अनुसार कालिगण्डकीमा २१ ह्जार ७२८ जनसंख्या रहेका छन् भने २०७८ को जनगणना अनुसार १८ हजार ८ जनसंख्या रहेको छ । पछिल्लो समय गाउँपालिकामा भईरहेको विकास निर्माणलार्ई समेत सन्तुलन कायम गर्ने गरी ३ वा ३ भन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप मासिक ४ हजारका दरले दुई वर्षसम्म प्रदान गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “जनसंख्या घट्नुको कारण बसाईसराईँ पनि हो तर पछिल्लो समयमा एकल सन्तान जन्माउने परिपाटीको विकास भईरहेको छ । यो परिपार्टीलाई रोक्न हामीले कार्यविधि नै बनाएर अगाडि बढेका छौँ । बसाईसराईँ रोक्नका लागी पनि पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।”