समाचार
भीरकोट नगरपालिकाको १७औँ नगरसभा सम्पन्न
वालिङ, २६ पौष ।
स्याङ्जाको भीरकोट नगरपालिकाले १७औँ नगरसभा सम्पन्न गरेको छ । दुई महत्वपूर्ण विधयेक पारित गर्दे भीरकोट नगरपालिकाले १७ औ नगरसभा सम्पन्न गरेको हो । नगरसभाले विज्ञापन व्यवस्थापन विधयेक पारित गरेको छ । विधयेक पारित गरे संगै अब भीरकोट नगरपालिका भित्र राखिने सुचना, विज्ञापन तथा होर्डिङ बोडको व्यवस्थापनलाई व्यवस्थित गर्दै राजस्वमैत्री बनाउने अपेक्षा गरिएको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो । त्यस्तै सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ पारित गरेको छ । यो विधयेक पारित भए संगै नगरपालिकाको बजेट कार्यान्वयन, खर्च प्रणाली र वित्तीय जवाफदेहिता पारदर्शी र उत्तरदायी बन्न मद्दत पुग्ने भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताउनुभयो ।
त्यस्तै सभामा नगर र वडा स्तरमा सञ्चालन भइरहेका तथा आगामी दिनमा सञ्चालन हुने केही योजनाहरूलाई संसोधन गरिएको छ । केही योजनाहरु जनउत्तरदायी तथा समयसापेक्ष नदेखिएकोले त्यसलाई जनउत्तरदायी र प्रभावकारी बनाउन सक्दा आम नागरिकमा सन्तुष्ट मिल्ने भएकोले केही नगर तथा वडाको बजेट संसोधन गरिएको नगरपालिकाले जनाएको छ । नगरसभामा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । नगरपालिकाले पारित गरेको ऐन तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत नगरवासीलाई अझ गुणस्तरीय सेवा प्रवाह गर्ने नगरपालिकाले प्रतिबद्धता व्यक्त समेत गरेको छ । नगरसभाको स्वागत मन्तव्य उपप्रमुख भगवती अर्यालले गर्नुभएको थियो ।