समाचार
टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकीको विजयी सुरुवात
रेडियो आँधीखोला
वालिङ, ३ माघ ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ। पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउण्डेसन स्याङ्जाले आयोजना गरेका प्रतियोगितामा शुक्रबारको उद्घाटन खेलमा कालीगण्डकीले रनले फेदीखोलालाई ४९ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कालीगण्डकीले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।
३.१ ओभरमा १२ रनमा पहिलो विकेट गुमाएको कालिगण्डकीले दोस्रो विकेटको लागि हिलसन पाण्डे र दर्सा सुनारले १४६ रनको साझेदारी गर्नु भएको थियो । ७३ रनको स्कोरमा दर्सा सुनार ७३ आउट भएसँगै कालीगण्डकीले लगातार विकेट गुमेको थियो । अण्डर १९ का राष्ट्रिय खेलाडी दर्साले ४७ बलमा पाँच छक्का र पाँच छक्काको मद्धतले उक्त रन बनाउनु भएको हो ।कालिगण्डकीको लागि हिलसनले ६५, भुवन भण्डारीले दुई बलमा नट आउट हुँदा सात रन बनाउनु भएको थियो ।
फेदीखोलाको लागि प्रशान्त सुवेदी र सुजन गौतमले दुई दुई लिनु भएको थियो । १७६ रनको लक्ष्य पाएको फेदीखोलाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १२६ रन मात्र बनाएको हो । २० रनमा पहिलो विकेट गुमाएको फेदीखोलाले ४९ मा चौथो विकेट गुमाएको थियो । पाँचौ विकेटको लागि सार्दुल भट्ट र प्रविन पौडेलले ५७ रनको साझेदारी गरेपनि हारलाई टार्न नसकेका हुन् ।
प्रतियोगिताको पहिलो चरण ४ गते सम्म र दोस्रो चरण माघ ९ गते देखि १४ गते सम्म चल्ने छ । यहाँ आयोजित प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहभागिता रहेको छ भने चार समुहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा विजेताले दुई लाख सहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०÷१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ । प्रतियोगिताको उद्दघाटन पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले गर्नुभएको थियो । उद्दघाटनका क्रममा प्रमुख रेग्मीले जिल्लामा संचालन हुने विभिन्न खालका खेलकुद प्रतियोगिताले खेल तथा खेलाडिको विकासमा थप टेवा पुग्ने बताउनुभयो । कार्यक्रम फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव धु्रव शर्माले गर्नुभएकोे थियो ।