समाचार
निर्वाचनका लागी स्याङ्जामा दुई निर्वाचन कार्यालयको स्थापना
रेडियो आँधीखोला
वालिङ, ३ माघ ।
स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा दुई निर्वाचन कार्यालय स्थापना भएका छन् । क्षेत्र नं. १ को लागी जिल्ला समन्वय समितिको कार्यालयमा र क्षेत्र नं. २ का लागी वालिङ नगरपालिकाको कार्यालयमा प्रतिनिधि सभा निर्वाचन कार्यालय स्थापना गरिएको हो । दुई निर्वाचन कार्यालयमा दुई जना निर्वाचन अधिकृत सहित १८ जना काजमा आएका कर्मचारीहरुले हालको लागी काम गर्नेछन् भने निर्वाचन थप नजिकिँदै गर्दा आवश्यकताको आधारमा कर्मचारी थप गरिने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी जिल्लाका दुई निर्वाचन क्षेत्रमा दुई कार्यालय स्थापना गरिएका हुन् । निर्वाचन क्षेत्र नं. १ को कार्यालयमा उपेन्द्रप्रसाद गौतम निर्वाचन अधिकृत रहनुभएको छ भने निर्वाचन क्षेत्र नं. २ मा ऋषि पौडेल निर्वाचन अधिकृत रहनुभएको छ । स्याङ्जामा २ लाख ४१ ह्जार ९१० कुल मतदाता रहेकोमा महिला १ लाख २३ हजार ६४२ र पुरुष १ लाख १८ हजार २६७ रहेका छन् । १९९ मतदान स्थल रहेको जिल्लामा ३२२ मतदान केन्द्रहरु रहनेछन् ।