समाचार
स्याङ्जामा निर्वाचन प्रहरीको संख्या झण्डै एक हजार जनाले अपुग
वालिङ, ५ माघ ।
निर्वाचन प्रहरीका लागी स्याङ्जामा १ हजार ३१८ जनाले आवेदन दिएका छन् । माघ १ गतेसम्म १३ महिला र १५६ पुरुष गरी १६९ जनाले आवेदन दिएका थिए भने म्याद थपिएपछि महिला आवेदक २०६ र पुरुष १ हजार ११२ पुगेका छन् ।
नेपाल प्रहरीतर्फ १ हजार ९४७ जना माग गरेकोमा १९२ महिला र ९५२ पुरुष गरी १ हजार १४४ र सशस्त्र प्रहरी बल नेपालतर्फ १७९ जनामा १४ महिला र १६० पुरुष गरी १७४ जनाले मात्र आवेदन दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी आवश्यक निर्वाचन प्रहरी भर्नामा तोकिएको संख्या अझै पूरा हुन सकेको छैन । आवेदन दिने म्याद थपिँदा पनि आवश्यक कोटा नपुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सुरुमा माघ १ गतेसम्म आवेदन लिने योजना भएपनि अपेक्षित संख्यामा आवेदन नपरेपछि म्याद माघ ३ गतेसम्म बढाइएको थियो । स्याङ्जाका लागि दुई हजार १२६ निर्वाचन प्रहरी आवश्यक रहेकामा अन्तिम दिनसम्म एक हजार ३१८ जनाले मात्रै आवेदन दिएका छन् । यसअनुसार अझै ८०८ जनाको कमी देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जासहित वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर वालिङबाट भर्ना आवेदन लिइएको थियो । यसपालि निर्वाचन सुरक्षामा खटाइने सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’को सट्टा ‘निर्वाचन प्रहरी’ नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ अनुसार हुनेछ ।
यस भर्ना, छनोट, नियुक्ति प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त भइसकेका पूर्वसुरक्षाकर्मीहरू र वन रक्षकबाट अवकाश प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ । साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालका विभिन्न पदमा भर्ना हुन आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा सफल भएकाहरूलाई प्रवेश पत्रका आधारमा प्राथमिकतामा राखिनेछ । यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा जिम्मेवारीपूर्वक काम गरेका व्यक्तिलाई पनि विशेष प्राथमिकता दिइनेछ ।
प्रहरीका अनुसार निर्वाचन प्रहरीको छनोट प्रक्रिया माघ ९ गतेभित्र सम्पन्न गरिनेछ । छनोटमा परेका उम्मेदवारलाई माघ १५ गतेदेखि २४ गतेसम्म आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गरिनेछ । माघ ३ गतेभित्र आवेदन दिएका उम्मेदवारलाई माघ ४ गते सम्पर्कमा आउन समेत प्रहरीले आग्रह गरेको छ ।