समाचार
प्रतिनिधिसभा निर्वाचन ः स्याङ्जामा कुन दलबाट को उम्मेदवार
रेडियो आँधीखोला
वालिङ, ६ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा प्रमुख दलहरुले उम्मेदवारी तय गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा माओवादी विप्लबले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेका हुन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले दुईदिन अगाडि नै उम्मेदवारी टुंग्याएको थियो भने नेपाली कांगे्रसले सोमबार राति उम्मेदवारी टुंग्याएको हो । नेपाली कांगे्रसबाट क्षेत्र नं. १ मा भरत ढकाल र क्षेत्र नं. २ मा भागवतप्रकाश मल्लको उम्मेदवारी रहेको छ । ढकाल मुक्तिनाथ विकास बैंकका सिईओ र अध्यक्ष भैसक्नुभएको हो भने मल्ल प्रदेश सभा सांसद बनिसक्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्र नं १ बाट डा. धनञ्जय रेग्मी र २ मा झविलाल डुम्रेको उममेदवारी रहेको छ । रेग्मी नेपालको पर्यटन क्षेत्रका विज्ञ एवम् नेपाल पर्यटन बोर्ड (एनटिबी) का पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरिसक्नुभएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले स्याङ्जा क्षेत्र नं. २ मा रबिन पाठकलाई उम्मेदवार बनाएको छ । राप्रपाले युवा पुस्तालाई उम्मेदवार बनाएको जनाइएको छ । यस्तै, बिप्लव नेतृत्वको नेकपा माओवादीको तर्फबाट स्याङ्जा क्षेत्र नं. २ मा ध्रुव गौडेललाई उम्मेदवार बनाएको छ । गौडेल नेकपाको केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पत्रकार हुनुहुन्छ । क्षेत्र नं. १ मा भने उम्मेदवार तय गर्ने प्रक्रिया चलिरहेको नेकपाले जनाएको छ ।
यसैबीच आज विहान १० बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ । विहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारीको समय तोकिएको हो । उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।